काठमाडौं–ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको आदेशले थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतको निवेदनमाथि सोमबार सर्वोच्चमा पेसी तोकिएको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा बस्नेतको मुद्दा पेसी तोकिएको छ। सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मुख्य भूमिका निर्वाह गरेको आरोपमा बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो। भौतिक पूर्वाधार सचिव रहेको समयमा बस्नेतले उक्त जग्गा व्यक्तिको नाममा बनाउन भूमिका खेलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
विशेषले थुनामा पठाउने निर्णय गैरकानुन भएको जिकिर बस्नेतको निवेदनमा उल्लेख छ। उनले आफूवाहेक अरु निवेदक धरौटीमा रिहा भएकाले थुनामा राख्ने निर्णय गैरकानुनी भएको जिकिर गरेका छन्। तल्लो अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि त्यसविरुद्ध माथिल्लो अदालत जान पाउने सुविधाअन्तर्गत बस्नेत सर्वोच्च पुगेका थिए।
अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिदबिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो।
मुद्दा दायर गरिएकामा नेपाली कांग्रेसका नेता गच्छदार तथा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसमेत थिए। विशेष अदालतले उनीहरुलाई फागुनमै अदालत उपस्थित हुन म्याद जारी गरेको थियो। लकडाउन खुकुलो भएसँगै अदालत खुल्न थालेपछि केही आरोपी अदालतमा उपस्थित भएपनि गच्छदारसहितका केही भिआइपी भने उपस्थित भएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।