काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षप्रति संकेत गर्दै झगडियाको कामै मुद्दा हाल्ने भएको बताएका छन्।
प्रचण्ड–नेपाल पक्षलाई लक्षित गर्दै ओलीले पार्टीको बैठकमा आउँछन् कि भन्दा 'हामी यहाँ छौँ' भनेर छातीमा टाँसेर निर्वाचन आयोगदेखि अदालतसम्म पुगेको टिप्पणी गरे। अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै ओलीले आफूले संसद् विघटन गरेर ठिक गरेको भन्दै प्रष्टीकरण थिए।
‘बैठकमा आएनन् कहाँ हराए भनेको त माइतघर मण्डलामा गएर यहाँ छौँ। कहाँ हराए भनेको त निर्वाचन आयोगमा पुगेर हामी यहाँ छौँ भनेछन्। कहाँ हराए भनेको त अदालतमा मुद्दा हाल्न गएछन्,’ ओलीले भने, ‘झगडियाको कामै त्यहीँ हो। निर्वाचन आयोगमा मुद्दा हाल्ने। अदालतमा मुद्दा हाल्ने।’
प्रचण्ड-नेपाल पक्ष लोकतन्त्र, गणतन्त्र, देशका सबै प्रणालीविरुद्ध व्यापक हमला भएको ओलीले आरोप लगाए। प्रचण्ड नेपाल पक्षको कामै राष्ट्रपतिमाथि हमला गर्ने भएको बताए।
‘प्रचण्ड नेपाल गुटको कामै राष्ट्रपतिमाथि हमला गर्ने हो। राष्ट्रपति भनेको गणतन्त्रात्मक व्यवस्थाको सर्वोच्च संस्था हो। हामीले राष्ट्रपति संस्थालाई थोरै अधिकार दिएका छौँ,’ राष्ट्रपतिको प्रतिरक्षा गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले तोक आदेश मात्रै गर्ने हो। कानुन नियम मिल्ने भनेपनि प्रधानमन्त्रीको कमजोरी हो राष्टपतिको होइन।’
प्रधानमन्त्रीको हैसियतमा गरेका सबै काम संविधान, कानुन र संसद भएको भन्दै संसद विघटनको बचाउ गरे। आफूले गरेका सबै निर्णय लोकतान्त्रिक गणतन्त्र, आमजनता र राष्ट्रको सार्वभौमको पक्षमा भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।