काठमाडौं- मौसम प्रतिकुलताका कारण पछिल्लो ३ दिनमा मात्रै आन्तरिकतर्फ १ सयभन्दा बढी उडान रद्द भएका छन्।
तराईका विमानस्थलमा हुस्सुका कारण उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको टावरले जनाकारी दिएको छ। माघ १ गतेदेखि ३ गते शनिबारसम्ममा आन्तरिकतर्फका मात्रै १ सय २ वटा उडान रद्द भएका छन्।
आइतबार भने तराईका केही विमानस्थलमा बिहानदेखि नै उडान सुरु भएको छ। तर, पनि भरतपुर, भद्रपुर र जनकपुरमा भने अहिलेसम्म पनि बाक्लो हुस्सुको कारण उडान हुन सकेको छैन।
आइतबार पोखरा, विराटनगर, नेपालगञ्ज र भैरहवामा भने बिहान ८ बजेबाट उडान भएको विमानस्थल टावरले जानकारी दिएको छ।
मौसम प्रतिकुलताका कारण उडान डिले तथा रद्द हुँदा आन्तरिक विमानस्थलको टर्मिनमा यात्रुको भीडसमेत बढेको छ।
विमानस्थल टावरका अनुसार माघ १ गते विहीबारमा लागि आन्तरिकतर्फ ८७ वटा उडान तय भएका थिए। जसमा १५ वटा उडान रद्द हुँदा ७२ वटामात्रै उडान भएको थियो।
यसैगरी माघ २ गते शुक्रबार भने ५० प्रतिशत उडान नै रद्द भएका थिए।
शुक्रबार पनि ८७ वटा उडानका लागि तालिका तय भएको थियो। तर, मौसम प्रतिकुलताका कारण ४४ वटामात्रै उडान भएको टावरले जनाएको छ। शुक्रबार ४३ वटा उडान रद्द भएको थियो।
यसैगरी, शनिबार माघ ३ गते पनि ५० प्रतिशतमात्रै उडान भएको छ। शनिबारका लागि ८९ वटा उडान तय भएपनि मौसमका कारण ४५ वटामात्रै उडान भएको थियो। शनिबार पनि ४४ वटा उडान रद्द भएको छ।
अधिकांश रद्द भएका उडान तराई क्षेत्रका विमानस्थलका लागि तय भएको उडान रहेको टावरको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।