काठमाडौं- कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वजले कतारस्थित विभिन्न पेशा तथा व्यवसायमा आबद्ध नेपालीहरुलाई आफ्नो पेशाप्रति सधैं इमान्दार रहन आग्रह गरेका छन्।
शुक्रबार दोहास्थित गरिएको श्रमिक सुरक्षा र सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत भारद्वजले सो आग्रह गरेका हुन्।
कतारमा रहेका नेपालीहरुले स्थानीय संस्कृति, धर्म र प्रचलित कानुन प्रतिकुल नहुने गरी सजग रुपमा काम गरी नेपालको इज्जत र आफ्नो स्वाभिमान तथा आत्मसम्मान कायम गर्नसमेत उनले जोड दिए ।
कार्यक्रममा खास गरी वैदेशिक रोजगारीका सिलसिलामा कतार प्रवेश अगाडि तथा प्रवेशपश्चात गर्न हुने तथा गर्न नहुने कामहरूलगायत कतारको कानुनको विषयमा प्रस्तुत गरिएको थियो। त्यस्तै कोभिड-१९ को संक्रमणको विद्यमान परिस्थितिमा कतार सरकारले अवलम्बन गरेका सुरक्षाका उपायहरु पालना गर्दै सबैले थप सजग र सुरक्षित हुनुपर्ने विषयमा समेत कार्यक्रम केन्द्रित थियो।
यसका साथै, राजदूतावासले जारी गर्ने राहदानी र ट्राभल डकुमेन्ट लगायत कन्सुलर सेवाका बारेका संक्षिप्त प्रस्तुतीकरण गरी यस विषयमा सहभागीहरूले उठान गरेका विविध प्रश्नहरूको जवाफ दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।