काठमाडौं– कोरोना कहरका बीच पनि पुस महिनामा मात्रै झण्डै १५ हजार नेपाली युवाहरु विदेशिएका छन्। नयाँ तथा पुनः श्रम स्वीकृति लिएर १४ हजार ७ सय ५३ युवाहरु विदेशिएका हुन्।
जसमध्ये नयाँ श्रम स्वीकृति लिएर विदेशिनेहरु ७ हजार २ सय ९ जना रहेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पुनः श्रम स्वीकृति लिनेहरु ७ हजार ५ सय ४४ जना रहेका छन्।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कतिपय गन्तव्य मुलुकहरुले आप्रवासी प्रवेशमा कडाइ गरिरहेका छन्। नेपाली श्रमिकहरुकै प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसियाले पनि नयाँ आप्रवासी कामदार लिएको छैन। तर पनि ठूलो संख्यामा नेपाली युवाहरु विदेशिएको विभागको तथ्यांकले देखाउँछ।
मलेसियाले नयाँ आप्रवासी कामदार नलिएपछि युएई, साउदी तथा कतार जाने नेपालीको संख्या बढेको देखिन्छ। पुसमा सबैभन्दा बढी ४ हजार ७ सय ७२ नेपालीहरु नयाँ तथा पुनः श्रम स्वीकृतिमार्फत् युएई पुगेको देखिन्छ। त्यसपछि कतारका लागि ३ हजार ८ सय ८२ नेपालीले श्रम स्वीकृति लिएका छन्।
साउदी अरबका लागि ३ हजार ७ सय ६३ ले श्रम स्वीकृति लिएका छन्। मलेसियाका लागि भने ७१ नेपालीले पुनः श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ। त्यस्तै बहराइन, साइप्रस, अफगानिस्तान, जापान, जोर्डन, कुवेत, माल्दिभ्स लगायत विभिन्न ५७ वटा मुलकहरुका लागि नयाँ तथा पुनः श्रम स्वीकृति लिएको देखिन्छ।
सामान्य अवस्थामा प्रतिमहिना नयाँ तथा पुनः श्रम स्वीकृितमार्फत् ५० हजारभन्दा बढी नेपाली युवाहरु विदेशिने गरेका थिए। कोरोना महामारीका कारण गन्तव्य मुलुकहरुमा प्रवेश असहज भएसँगै यो संख्या भने घटेको छ। अब वैदेशिक रोजगारी पहिलेकै लयमा फर्किएला कि नफर्किएला भन्ने चौतर्फी चासोको विषय बनेको छ। तर सहज परिस्थिति आउने बित्तिकै वैदेशिक रोजगारीले फड्को मार्ने विभागको विश्वास छ।
नीतिलाई प्रभावकारी बनाउन सके युरोप, जापान, ल्याटिन अमेरिकी मुलुकहरु लगायतमा ठूलो संख्यामा नेपालीहरु पठाउन सक्ने अवस्था रहेको विभागका महानिर्देशक कुमार दाहाल बताउँछन्।
श्रम सम्झौता तथा समझदारी बढाएर त्यहाँको मागअनुसार कामदार आपूर्ति गर्न सहज वातावरण तयार गर्ने हो भने ठूलो संख्यामा नेपालीहरुले अवसर पाउने उनको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।