काठमाडौं- कमलपोखरी बचाउ अभियानमा लागिरहेका अभियन्तासँगै स्थानीय बासिन्दाले शुक्रबार पोखरीमै भेला भएर सांकेतिक विरोध गरेका छन्। पोखरी बचाउन समयमै काम गर्न नसकेको, रानीपोखरीबाट पाठ नसिकेको भन्दै उनीहरुले पोखरीको माटो अनुहारमा दलेर आत्मसमीक्षा गरे। पोखरी बचाउन लागिपर्ने प्रण गरे।
काठमाडौं महानगरपालिकामार्फत अहिले कमलपोखरी पुनर्निर्माणमा काम भइरहेको छ। त्यसमा सम्पदाको मूल्य र महत्व नबुझी काम भइरहेको जसले पोखरी नै संकटमा पर्ने भन्दै अभियन्ताले विरोध सुरु गरेका हुन्। जसमा चरणबद्ध रुपमा उनीहरुले सम्बन्धित निकायमा आवाज पुर्याउने र सचेत गराउने काम गरिरहेका छन्।
शुक्रबार भएको विरोध कार्यक्रममा अभियन्ता र केही सचेत नागरिकसँगै वडाअध्यक्षदेखि सांसदसम्म आएर अनुहारमा माटो दले। कुनै समय सिमसारको रुपमा रहेको व्यापक कमलपोखरी अतिक्रमण हुँदै अहिलेको अवस्थामा आइपुगेकोमा चिन्ता व्यक्त गरे। रानीपोखरीबाट पाठ नसिकेकोमा आफूहरु लज्जित रहेको साथै सिमेन्ट र डण्डीको कमल चाहिँदैन भन्दै आवाज उठाए।
काठमाडौं महानगरपालिकाले गएको वर्ष असारमा कमलपोखरी पुनर्निर्माणको काम सुरु गरेको हो। मेयर, उपमेयर र कमलपोखरी रहेको वडा नम्बर १ का वडाध्यक्षसमेतले पुनर्निर्माणको शिलान्यास गरेका थिए। जहाँ ९ करोड ४६ लाख ९९ हजार रुपैयाँमा पोखरीको स्वरुप फेर्ने, वरपर व्यायाम क्षेत्र, ब्याडमिन्टन, बास्केटल खेल्ने स्थान बनाउने, पोखरीको बीचमा जाने पुल बनाउने, सिमेन्टको कमल बनाउने जस्ता योजना देखिन्छन्।
पुनर्निर्माणको शिलान्यास हुँदा स्थानीय बासिन्दासमेत पोखरीमा कसरी काम हुँदैछ भन्नेमा यकिन जानकार थिएनन्। कतिपयले पोखरीको पर्यावरणीय महत्व र सम्पदाको महत्व बुझेका पनि थिएनन्। अहिले भने भइरहेको काम हेर्दा र अभियन्ताले अवाज उठाउँदा धेरै सचेत देखिएका छन्।
भूकम्पपछि रानीपोखरीको पुनर्निर्माणमा ‘स्वीमिङ पुल’ को स्वरुपको डिजाइनबाट यिनै अभियन्ताले आवाज उठाएपछि महानगर पछि हटेको थियो। अहिले रानीपोखरीको अवस्थाबाट पाठ नसिकेर महानगर सम्पदामाथि अर्को मजाक गरिरहेको छ। महानगरपालिका भने स्थानीयसँगको छलफलमा नै काम भएको र अझै स्थानीयले जिम्मा लिएर काम गराउन सकिने बताइरहेको छ।
तर महानगरले गरिरहेको काममा भने त्यस्तो देखिँदैन। माटो र पानीको अवस्थिति र अस्तित्व नबुझी पोखरीमा डोजर लगाइएको छ। जसले पोखरीमा जीवन समाप्त भएको छ भने कालान्तरमा पोखरी नामेट हुने अवस्था देखिन्छ। यसैले अभियन्ताले महानगरले नबुझेको सम्पदाको अवस्थामा आफूहरुले नै लज्जाबोध गर्दे शुक्रबार कमलपोखरीको माटो अनुहारमा दले।
के भन्छन् स्थानीय र जानकार?
सुशिल श्रेष्ठ, अध्यक्ष, ऐतिहासिक ढुंगेधारा पोखरी संरक्षण संघ
पोखरी कसरी निर्माण हुन्छ र पोखरी किन बनाइन्छ भन्ने कुरा नै बुझ्न जरुरी छ। त्यसको महत्व बुझ्नुपर्यो। पोखरीमा पानी हुन्छ, पानी भएपछि त्यहाँ जीवन हुन्छ। जुन अवस्था अहिले कमलपोखरीको देखिरहेका छौँ, त्यो अब पूरा कुन किसिमबाट काम गर्न लागिएको हो त्यो नै यकीन छैन। डिपिआर पनि हेर्न पाइएको छैन। १६ वर्षसम्म ढुंगेधारा पानी र पोखरीको अध्ययन गरेको आधारमा के भन्न सक्छु भने अहिले जुन तरिकाले कमलपोखरी पुनर्निर्माण गर्न कोसिस गरिरहनुभएको छ त्यो अलि ठीक ढंगबाट गइरहेको जस्तो लाग्दैन। किनभने अहिले पोखरीमा पानी सुकाएर काम गर्नु नै पहिलो ठूलो गल्ती हो। कुनै पनि पोखरी पुनर्निर्माण गर्न पानी सुकाउन जरुरी छैन। हामीले यसअघि अन्य पोखरीमा काम गर्दा पानी नसुकाइ काम गरेका थियौँ।
अहिले कमलपोखरीमा जमीन चिरा चिरा परेको देखिएको छ। छेउको माटो पनि खनेर कहाँ पुगिसक्यो थाहा छैन। कमलपोखरी सिमसार हो कि मानवनिर्मित पोखरी हो त? हामीले यसबारे जुममार्फत छलफल पनि गरेका थियौँ। अहिलेसम्मको विषय हेर्दा यो पोखरी सिमसार हो भन्ने देखिएको छ। यसमा भएको ठूलो दलदल पनि त्यसको प्रमाण हो। दलदलसमेत माटो निकालेर सुकाउने काम भइरहेको छ। यो पोखरी बस्तीभन्दा ठाढा भएकाले पनि यो सिमसार हो भन्ने देखिएको छ। अहिले यसको उत्खनन् गरेर हेर्ने हो भने पनि देखिन्छ नै। यो पहिले ६० रोपनीको क्षेत्रफलमा थियो भन्ने आधारले पनि यो सिमसार नै हो। सिमसार मिच्दा मिच्दा अहिले यति सानो क्षेत्रफलमा कमलपोखरी पुगेको छ।
पाटनमा यसरी नै मिचेर एउटा सिमसार नै सकिएको थियो। त्यहाँ कुमारीपाटीदेखि पाटन अस्पताल हुँदै जावलाखेल टेलिकमसम्म थियो भन्ने सुनिन्छ। अहिले त्यसैगरी कमलपोखरीको जग्गा पनि कहाँ गयो भनेर खोज्नुपर्ने हो कि होइन? मानवनिर्मित हो भने पोखरीमा गिचा गथेचा जस्ता माटो त हुनै पर्ने हो। डोजर लगाएर खनिएको छ, त्यहाँ न त गिचा छ न त गथेचा नै छ, त्यसैले यो सिमसार हो भन्ने नै देखिएको छ। प्राकृतिक पोखरी हो यो। यो माटो जति देखिएको छ यो हजारौँ वर्षदेखि खाँदिएको माटो छ। त्यसले पानीलाई छेकेर राखेको हुन्छ। अब यो माटो झिकेपछि यसमा कसरी पानी अडिन्छ? यसको छेउछेउमा पहिले पक्कै जंगल पनि हुनैपर्छ। अब अहिले जुन काम भइरहेको छ यहाँ पानी नसुकाइकन जानुपर्ने हो। यो सिधा चिरा परेपछि कति मुनिसम्म चिरा पर्छ थाहा हुँदैन।
ल, अहिले भनेको सबै काम गरेर बीचमा सिमेन्टको कमल नै बनाएपछि पोखरीमा पानी चाहिँ कसरी अडिन्छ त? पानी नभए पोखरीको के अर्थ? अनि त्यसपछि डलान गर्ने? विचार गर्नुपर्दैन? रानीपोखरीमा पनि भनिएको जसरी काम नहुँदा कति समस्या देखियो? अहिले जमेको पानीमा पनि झ्याउ, लेउ उम्रिएर आएको छ। रानीपोखरी नै दलदलमा परिणत भएर जाने खतरा छ। अहिले कमलपोखरीमा निर्माणका लागि जुन प्राकृतिक सामान चाहिन्छ त्यो उपत्यकामा नै पाइन्छ। तर अनावश्यक सामानको प्रयोग त गर्नु भएन नि?
राजन शाक्य, स्थानीय बासिन्दा
कमलपोखरीमा हामी आज किन छौँ भने हामी विकास गर्दा प्रक्रिया राम्रो होस् भन्न चाहन्छौँ। नेपालमा अहिले हामी विकासको काममा मिलाएर अघि बढिरहेको देख्दैनौँ। पहिले विकासको काम गर्छौं, त्यो योजनामा भएको हुँदैन अनि फेरि भत्काउँछौँ। रानीपोखरीमा पनि त्यस्तै समस्या देखिएकै हो। त्यसकारण हामी सरकारलाई विकासको कला सिकाउन चाहन्छौँ। गरिसकेको काम फेरि दुई महिनापछि भत्काउन नपर्ने होस् भन्न चाहन्छौँ।
हामी विकासको विरोधी होइनौँ, सुन्दरता कसलाई मन पर्दैन र? गर्नु पनि पर्छ तर गर्ने भन्दैमा टालटुले काम पनि त गर्नु भएन नि। कमलपोखरी महत्वपूर्ण सम्पदा हो। यहाँ पानीको स्रोत त बचाएर नै जानुपर्छ। रानीपोखरीमा जस्तो भयो भने के गर्ने? जनताको कर त बेकारमा खर्च भयो नि। हामीले भनिरहेका छौँ कि पोखरीको लामो समयको जीवन हेरौँ। हामी शतप्रतिशत सहि रुपमा काम होस् भन्ने चाहन्छौँ।
म राजनीतिक कुरामा जान चाहन्न उनीहरु काम देखाउन काम गर्ने खालका मात्र छन्। जसले यो काम गरे पनि राम्रो ढंगमा गरोस् भन्न चाहन्छु। म वास्तवमा यहाँ नजिकै हुर्किएको हुँ। यहाँ पहिले भएको पोखरी पनि धेरै राम्रो त थिएन। फोहोर गरेर राखिएको थियो। अब राम्रो हुँदै गइरहेको बेला फेरि पनि बिगार्न त भएन नि। हामी गरिब भइरहेको पैसा नभएर होइन, हामी दिमागदेखि नै गरिब छौँ। त्यही दिमागलाई अब परिवर्तन गर्नुपर्यो।
रामजी प्याकुरेल, कमलपोखरी स्पोर्टस् क्लब
अगाडिको समयमा यो पोखरी कस्तो थियो भन्ने त हामीलाई पनि यकिन जानकारी छैन। मैले जान्दाको समयमा यो पोखरी ढल पठाउने स्थान बनिरहेको थियो। यहाँ वरपर सबै घरको ढल यहाँ नै आइरहेको हुन्थ्यो। २०५० सालमा यहि पोखरीको किनारमा कमलपोखरी स्पोर्टस् क्लब स्थापना गरियो। त्यसमा सचिवमा रहेर मैले नै काम गरिरहेको छु। यही क्लबको पहलमा नै हामीले यहाँ पोखरीमा मिसिएको फोहोर छेउमा ढल बनाएर ब्यवस्थापन गर्ने काममा पहल गरेका थियौँ।
२०६५ सालमा त्यसका लागि स्थानीय घरसँग सहयोग लिएर ४ लाख रुपैयाँमा ढलको काम गरेका थियौँ। त्यसले पोखरी केही राम्रो भयो। पोखरीमा त्यसपछि क्लबको आयस्रोत हुने गरी माछापालन पनि सुरु गरेका थियौँ। त्यसपछि पनि पोखरी पुनर्निर्माण र यहाँको संरचनाका लागि पटकपटक रकम खर्च भइरहेको छ। कहिले दुई करोड, कहिले छ करोड रुपैयाँ खर्च गर्नुपर्ने नै हो त? हाम्रो सन्ततीका लागि यो पोखरी कसरी बचाएर राख्ने हो त? यसको स्वरुप नमर्ने गरी पहिलेको जस्तै बनाइराख्नुपर्ने होइन र? जसरी पनि यसमा राम्ररी छिटो काम गर्नुपर्यो।
विराज भक्त श्रेष्ठ, वागमती प्रदेश सांसद
यो इतिहास बोकेको पोखरीलाई बचाउँ भनेर साथीहरु लागिरहनुभएको छ। यो कुरा यही कमल पोखरीको मात्र पनि होइन, यसले काठमाडौं महानगरपालिकाको भिजन के हो भन्ने कुरा पनि उजागर गरेको छ। २०२४ सालमा नापीले यो पोखरी अतिक्रमण भएको छ भनेर रिपोर्ट नै दिइसकेको विषयमा पनि आजसम्म केही काम हुन नसक्नु, काठमाडौंको यो केन्द्र स्थानमा यस्तो फोहोर बनाइराख्नु कस्तो सोच हो त? विकास भनेको कंंक्रिट नै कंक्रिट मात्र हो त? बरु पूरै काठमाडौंलाई कंक्रिट बनाउने ठेक्का नै दिउँ न। यो पोखरीमा कंक्रिट मात्र हाल्दा पुतलिसडकमा सडक भासिन सक्छ, त्यसमा कत्तिको ध्यान पुगेको छ?
जमीनको पुनर्भरणको विषय नुबझिकनै काम गर्नु मिल्छ त? यति करोड भनेर बजेट निकाल्ने र पैसाको लागि मात्र काम गर्ने हो भने महानगरपालिकालाई मेरो निवेदन, बरु पैसा नै बाँडिदिनुस् तर हाम्रो ठाउँ नबिगारिदिनुस्। हामी कति कुरामा मात्रै लडिरहने हो त? काठमाडौं महानगरपालिकासँग यस्तै विषयमा हामी कति लडिरहने हो? अभियन्तासँग बसेर मेयर साबले कुरा गर्न सक्नुहुन्न? हामी विकास विरोधी बौलाह हो र?
हामी यसरी बोल्दा डलरे भनेर ट्याग पनि आउँछ, कमलपोखरीको माटो हातमा लिएर अभयदानमा विश्वास गर्ने हामीले यो प्राणी मारेर भएको विकासको नामको विनाश कसरी हेरिरहने? हामी सफल हौँला या असफल हौँला तर हामीले यसलाई बचाउने कोशिस भने गर्छौं नै। समय रहँदै सुध्रिनुस भनेर मेयर ज्यूलाई पनि भन्न चाहन्छु, यो भन्दा बिग्रिन नदिनुस्, विज्ञ राखेर कुराकानी गर्नुस्।
थप तस्बिरमा हेर्नुहोस् विरोध र कमलपोखरीको अवस्था
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।