काठमाडौं- रसियाली कम्पनीले निर्माण गरेका २९ वर्ष पुराना दुई वटा एमआइ-१७ हेलिकोप्टर १५ दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमै रोकिएका छन्। किर्गिस्तानमा दर्ता भएका दुई एमआई-१७ हेलिकोप्टर विमानस्थलमा जनवरी १ मा अवतरण भएका थिए।
ढाकाबाट काठमाडौं विमानस्थलमा अवतरण भएका हेलिकोप्टर पार्किङका लागि किर्गिस्तानको सिभिल एभिएसनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्रचार गरेको थियो। सोही पत्रका आधारमा प्राधिकरणले जनवरी ९ सम्मका लागि पार्किङ अनुमति दिइएको थियो। तर, पुनः २९ तारिकसम्मका लागि पार्किङ अनुमति लिएर पार्किङमा जहाज राखिएको छ।
‘हेलिकप्टर हेली स्काई भन्ने कम्पनीले नेपालमा ट्रान्जिट अवतरण अनुमति मागेर ल्याएको थियो। सुरुमा उसले जनवरी ९ सम्मका लागि काठमाडौंमै पार्किङ गर्न अनुमति मागेको थियो। सोहीअनुसार पार्किङअनुमति दिएको थियो,’ प्राधिकरण महानिर्देशक राजन पोखरेलले भने, ‘पुनः उसले २९ जनवरीसम्मका लागि पार्किङ अनुमति मागेको अनुमति दिइसेको छ। उसले यहाँ पार्किङ मात्रै गर्ने हो। व्यवसायिक उडान गर्न पाउँदैन। जहाज पार्किङबाट प्राधिकरणलाई आम्दानी समेत भएको छ।’
पोखरेलका अनुसार हेली स्काइले ढाकामा रहेका हेलिकप्टर काठमाडौं हुँदै भारतको नयाँदिल्ली लिन खोजेको जानकारी प्राधिकरणलाई गराएको थियो। ‘यी हेलिकप्टर नेपालमा उडाउन पाइँदैन,' पोखरेलले भने, ‘हामीले खाली विमानस्थलमा अवतरण तथा पार्किङको अनुमति मात्र दिएका हौं। अन्तर्राष्ट्रिय नियमअनुसार पनि हामीले यो दिनुपर्छ।’
१५ दिनको पार्किङ अनुमति लिएर चालक दलका सदस्य इन्डोनेसिया फर्किइसकेका कारण हेलिकोप्टर नेपालमै रहको भन्दै विभिन्न कोणबाट शंका उत्पन्न भएको छ।
प्राधिकरणका अनुसार भारतमा उडान अनुमति लिने प्रक्रिया लम्बिएका कारणसमेत नेपालमा हेलिकोप्टर लामो समय नेपालमै रहने अवस्थासमेत आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।