काठमाडौं- टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टिआरटिएफ नेपाल)ले जिआइजेडको प्राविधिक सहयोग र गेट फाउन्डेसनको सहकार्यमा बुधबार भर्चुअल रुपमा आयोजित कार्यक्रमबीच नेपालका पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल सार्वजनिक गरेको छ।
कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. स्टेफेन रोसेक र टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल) का संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले एचएचएस प्रोटोकलको प्रशिक्षण–प्रशिक्षक तालिम म्यानुअल गरे।
कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. स्टेफेन रोसेकले कोभिड–१८ विश्वव्यापी स्वास्थ्य संकटमात्र नभइ आर्थिक संकटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउँदै यस क्षेत्रको पुनर्बहालीका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डले प्रभावकारी भूमिका खेल्ने बताए।
उनले जर्मन सहयोग संस्था जीआईजेडले नेपालको आर्थिक विकाससम्बन्धी विभिन्न सहयोगका कार्यक्रमहरू सञ्चालन गरिरहेको चर्चा गर्दै पर्यटनको विकासमा पनि जर्मन सहयोग रहने प्रतिबद्धता व्यक्तसमेत गरे।
डा. रसेकले नेपालको पश्चिमी भागको पर्यटन र आतिथ्य क्षेत्रको सेवाको गुणस्तर र मापदण्ड वृद्धि गर्नका यसले सहयोग पुर्याउने विश्वास व्यक्त गरे। नेपालको आशालाग्दो पर्यटन गन्तव्यका रुपमा रहेको लुम्बिनी र त्यहाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलसहित एयरपोर्ट र लुम्बिनी प्रदेशमा चलिरहेका अन्य परियोजनाहरूका पर्यटनमा स्वास्थ्य र स्वच्छतासम्बन्धी परियोजना सहायक सिद्ध हुने उनको विश्वास थियो ।
टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक दिपकराज जोशीले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा असर पारेपछि नेपालका पर्यटन व्यवसायी र सरोकारवालाहरूबीच गरिएको सर्वेक्षणमा ८५ प्रतिशत साना तथा मझौला व्यवसायीहरूले तालिम, शिक्षा र सचेतना कार्यक्रमको खाँचो औंल्याएको जानकारी दिए।
उनले त्यही सर्वेक्षणका आधारमा गेट फाउन्डेसन र जीआईजेडको सहकार्यमा पहिलो चरणमा स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डसम्बन्धी तालिम सञ्चालन गर्न लागिएकोमा खुसी व्यक्त गरेका थिए।
यस परियोजनाले कोभिड–१९ महामारीपछि नेपाल सरकारद्वारा लागू गरिएको पर्यटनसँग सम्बन्धित सेवा प्रदायकहरूका लागि महामारी र महामारीपछिका अवस्थामा पर्यटनसम्बन्धित सेवा तथा व्यवसाय सुचारु राख्नका लागि सरकारद्वारा स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल बनाउने लक्ष्य राखेको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिका नगरपालिकाहरूमा प्रशिक्षकहरू (स्थानीय चैम्पियन्स) विकास गर्ने लक्ष्य राखेर स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षण सामग्री र मार्गदर्शन तयार परिएको हो। पाटा नेपाल चेप्टरका कोषाध्यक्ष खेम लकाईले भने स्थानीय तहमा स्थानीय प्रशिक्षक निर्माण गर्दा स्थानीय स्तरमा चाहिएको परिवर्तनलाई सहयो र पैरवी गर्ने अवसर सिर्जना हुने विचार व्यक्त गरे।
म्यानुअलकी सम्पादक अन्जना खड्काले परियोजनाको अपेक्षित नतिजाहरूको बारेमा विस्तृत जानकारी दिएकी थइन् भने परियोजना संयोजक विवेक पौडेलले कार्यक्रमको पहिलो चरणपछि, प्रशिक्षित व्यावसायीले प्रत्येक नगरपालिकामा २५० सेवा प्रदायकहरूलाई थप प्रशिक्षण प्रदान गर्ने जानकारी दिइन्। यसरी पश्चिम नेपालमा कूल २,७५० सेवा प्रदायकहरू स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्ँवयन गर्न प्रशिक्षित मानव संशाधन हुने उनीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।