काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा लैजान माग गरेका छन्। बुधबार सर्वोच्चमा भएको बहसका क्रममा उनले न्युनतम ११ जनाको इजलास बनाएर मुद्दाको सुनुवाई अघि बढाउन माग गरेका हुन्।
संवैधानिक इजलासमै मुद्दा हेर्ने कि बृहत पूर्ण इजलासमा लैजाने विषयमै बहस भइरहेको छ। रिट निवेदकका तर्फबाट बहस गर्दै थापाले यस्तो माग गरेका हुन्। उनले सकेसम्म धेरै न्यायधीश बसेर यो मुद्दा हेर्नुपर्ने बताए।
'सकेसम्म धेरै न्यायधीशले यो मुद्दा हेर्नुपर्छ। कम्तीमा ११ जना न्यायाधीशको बृहत् इजलास गठन गर्नुपर्छ,' बहसमा सहभागी उनले भने।
यसअघि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएका प्रतिनिधि सभा विघटनमा ११ न्यायधीशले फैसला गरेको थापाले इजलासमा स्मरण गराएका थिए। विगतको नजिरसमेत रहेकाले प्रतिनिधि सभा विघटनको मुद्दालाई बृहत पूर्ण इजलासमा लैजानुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।