काठमाडौं- कोभिडका कारण २०७६ चैतदेखि बन्द भएको होटल तथा रेस्टुरेन्ट अझ पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन्।
केही तारे होटलहरू सञ्चालनपछि पनि आम्दानीभन्दा खर्च बढी भएको भन्दै बन्द भएका छन्। नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनमा झन्डै २४ प्रतिहत होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आउन नसकेको उल्लेख छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिरसम्म आइपुदा २३ दशमल ७६ प्रतिशत होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आउन नसकेको उल्लेख छ।
यसैगरी, सञ्चालनमा आएका ४६ दशमल ४३ प्रतिशत होटल तथा रेष्टुरेन्ट आंशिक रुपमा मात्रै सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ भने २९ दशमल ७० प्रतिशत होटल तथा रेस्टुरेन्ट भने पूर्ण सञ्चालमा आएका छन्।
सञ्चालनमा आएका होटल तथा रेस्टुरेन्टको कोरोबार पनि न्युन छ। बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार होटल तथा रेष्टुरेन्टको कोरोबार १८ प्रतिशतमात्रै रहेको उल्लेख छ। कोभिड महामारी अगाडिको तुलनामा औसत तलब-ज्याला खर्च भने अहिले बढेर ५६ दशमल ३५ प्रतिशत पुगेको छ। यस्तो खर्च असारसम्ममा ३८ दशमलव १३ प्रतिशत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।