वासिंटन- अमेरिकी संसद भवनमा डोनाल्ड ट्रम्प समर्थकको आक्रमणपछि अमेरिकी कंग्रेसले यो स्वतः जो बाइडेनको जित भएको बताएको छ। अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडेन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ।
संसद्ले प्रमाणित गरेपछि अब बाइडेनलाई जनवरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ।
प्रदर्शनमा अहिलेसम्म एक महिलालाई प्रहरीको गोली लागेको छ भने अन्य ३ जनाको भने पब्लिक इमर्जन्सीका क्रममा मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।
ट्रम्प समर्थकको प्रदर्शनपछि वाशिङटन डिसीमा १५ दिनका लागि ‘नागरिक आपतकाल’ (पब्लिक इमर्जेन्सी) लगाइसकिएको छ।
संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केहीबेर अवरुद्ध भएको थियो।
इलेक्टोलर मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका थिए। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक हुन्छ।
इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा असफल भएको थियो।
ट्रम्प समर्थकहरुले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरेका थिए। इलेक्टोरल मतगणना गरेर जो बाइडेनको जीत औपचारिक रुपमा घोषणा गर्न संसदको बैठक बसिरहेका बेला यो हिंसा भएको हो। संसदमा बहस चलिरहेका बेला अचानक ट्रम्पसमर्थक भवनभित्र प्रवेश गरेका थिए।
सोही कारण बहस रोकिएको थियो। ट्रम्प समर्थकहरुले निर्वाचन रद्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएको थियो। अवस्था नियन्त्रणबाहिर गएपछि नेशनल गार्डलाई परिचालित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।