वाशिङटन–जर्जियामा अमेरिकी सिनेटको २ सिटका लागि भएको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ। हालसम्म दुवै सिटमा डेमोक्रेटिक उम्मेदवारहरुको अग्रता देखिएको छ।
सिनेटको बहुमत निर्धारण गरेर सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्न सक्ने भएकाले जर्जियाको चुनावलाई महत्वका साथ हेरिएको छ। आजको चुनावी परिणामले अमेरिकाको सिनेटमा कुन राजनीतिक दलको नियन्त्रण कायम हुनेछ भन्ने कुराको निर्धारण गर्नेछ ।
चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर मैदानमा छन्। त्यस्तै डेमोक्रेटिक उम्मेदवारहरुमा जोन ओसफ र राफल वार्नक रहेका छन्।
सिनेटमा अहिले ४८ सिट डेमोक्रेटिक पार्टीको र ५० सिट रिपब्लिकन पार्टीको छ। प्रतिनिधिसभामा यसअघि नै डेमोक्र्याट्सको नियन्त्रण कायम भइसकेको छ।
जर्जियामा दुबै सिट रिपब्लिकनले जितेमा सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ । यसो भएमा बाइडेन प्रशासनले संसदबाट आफूले चाहेका विधेयक आगामी दुई वर्षसम्म पारित गराउन मात्र होइन, विभिन्न नियुक्तिमा समेत रिपब्लिकनको सहमति लिनु पर्ने छ । एउटामात्र सिट रिपब्लिकनले जितेमा पनि सिनेटमा रिपब्लिकनकै बहुमत कायम हुनेछ। दुवै सिट डेमोक्रयाट्सले जितेमा बराबर हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।