एजेन्सी–चिनियाँ अर्बपति एवं अलीबाबाका संस्थापक ज्याक मा २ महिनायता सार्वजनिक रुपमा देखा नपरेपछि विभिन्न अड्कलबाजी सुरु भएका छन्। चिनियाँ नियामक निकायले उनको व्यापारिक साम्राज्यमाथि कडाइ गरिरहेका बेला उनी सार्वजनिक रुपमा देखा परेका छैनन्।
‘द फाइनान्सियल टाइम्स’ का अनुसार उनलाई ‘अफ्रिकाज बिजनेस हिरोज’ नामक गेम शोको नोभेम्बरमा हुने फाइनलको निर्णायक बनाइएको थियो। तर उनी अनुपस्थित भएपछि उनको स्थानमा अर्कै व्यक्तिलाई राखिएको छ।
भारतीय अखबार हिन्दुका अनुसार ज्याक अक्टुबरको अन्त्यमा संघाईमा आयोजित एक सार्वजनिक मञ्चमा देखा परेका थिए। उक्त कार्यक्रममा दिएको भाषणमा उनले चिनियाँ नियामक प्रणालीप्रति प्रश्न उठाउँदै आलोचना गरेका थिए।
यहीकारण उनी चिनियाँ अधिकारीको निशानामा परेको बताइएको छ। घटनालगत्तै चीनले अली बाबाको एन्ट ग्रुपको फिनटेक आर्मको ३७ अर्ब डलरको आइपिओ स्थगित गरियो।
अली बाबाका प्रवक्ताले ज्याक माको तालिकाका कारण उनी सार्वजनिक रुपमा देखा नपरेको बताए। तर उनले यसबारेमा थप विवरण दिन अस्वीकार गरेका छन्।
ज्याक मा बेपत्ता भएको समाचार ट्वीटरमा भाइरल भइरहेको छ।
ज्याक माको अक्टुबरको सरकारविरोधी भाषणका कारण नियामक निकायहरुको निशानामा उनको कारोबार परेको बताइएको छ। सरकारी निकायले अलीबाबाविरुद्ध एन्टी ट्रस्ट अनुसन्धान सुरु गरेका थिए।
बेइजिङस्थित टेक कन्सल्टेन्सी बिडीए चाइनाका अध्यक्ष डंकन क्लार्कले उनलाई कानुनअनुसार चुप बस्न भनिएको हुनसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।