काठमाडौं– विश्वमा महामारीको असहज परिस्थितिमा विदेशबाट २ लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।
कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) काअनुसार विश्वका विभिन्न ५८ मुलुकहरुबाट २ लाख १ हजार २ सय २९ नेपाली स्वदेश फर्किएका हुन्।
यो संख्या गत चैतदेखि मंसिर १८ गतेसम्म स्वदेश फर्किनेहरुको हो। स्वदेश फर्किनेहरुमा अधिकांश वैदेशिक रोजगारीमा गएका नेपालीहरु छन्। जसमा रोजगारी गुमाएर तथा भिसा अवधि सकिएर स्वदेश फर्किनेहरुको संख्या उल्लेख्य छ।
स्वदेश फर्किनेहरु सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स युएईबाट ६१ हजार ६ सय ८७ नेपालीहरु छन्। त्यस्तै कतारबाट ४६ हजार १ सय ४६ नेपालीहरु स्वदेश फर्किएका छन्। मलेसियाबाट २५ हजार ५ सय २५ नेपाली स्वदेश फर्किएका छन्। साउदीबाट स्वदेश फर्किनेको संख्या २३ हजार ८९ छ। त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल प्रयोग गरेर भारतबाट २ हजार ३ सय ४ जना नेपालीहरु स्वदेश फर्किएका छन्। चीनबाट १ हजार २ सय ६३ नेपाली स्वदेश फर्किएका छन्। त्यस्तै म्यानमार, फिलिपिन्स, ओमान, बहराइन, साइप्रस, दक्षिण कोरिया, श्रीलंका, माल्दिभ्स, पाकिस्तान लगायत विभिन्न ५८ वटा मुलुकमा समस्या परेका नेपालीहरु स्वदेश फर्किएका छन्।
सरकारले विदेशमा अलपत्र आफैँ खर्च व्यहोर्न नसक्ने अवस्थाका श्रमिकहरुको निःशुल्क उद्धार गर्न निर्देशिका जारी गरेको थियो। सो निर्देशिकाअनुसार वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर उद्धार गरिएका नेपालीहरुको संख्या भने ज्यादै न्यून छ। हालसम्म १५६ जना निःशुल्क उद्धार गरिएको उल्लेख गरिएको छ।
लकडाउनपछि उद्धार उडान सुरु भएलगत्तै ५ लाखभन्दा बढी नेपालीहरु विदेशबाट तत्काल स्वदेश फर्कन चाहेको परराष्ट्र मन्त्रालयले अनुमान गरेको थियो। सोही समयमा तत्काल उद्धार गर्नुपर्ने १ लाखभन्दा बढी रहेको अनुमान गरिएको थियो। तर अनुमान गरिएअनुसार नेपालीहरु समस्यामा नपरेको सरकारको धारणा छ।
५ सयभन्दा बढी शव ल्याइयो
कोरोना महामारीपछि लामो समयसम्म विदेशमै रोकिएका ५ सयभन्दा बढी शवहरु ल्याइएको छ। सिसिएमसीकाअनुसार हालसम्म ५ सय २५ शवहरु स्वदेश ल्याइएको छ। आफन्तहरुको सहमतिमा केही शवहरु भने सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।