न्युयोर्क–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका निर्वाचन अधिकारीलाई आफूले विजय प्राप्त गर्न आवश्यक मतको व्यवस्था गर्न दबाब दिएको खुलासा भएको छ। हालै सार्वजनिक फोन रेकर्डिङमा उनले रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफेनस्पर्जरलाई यस्तो दबाब दिएकाे पाइएकाे हाे।
ट्रम्पले रेफेनस्पर्जरलाई भनेका छन्, ‘मलाई ११७८० मत चाहिन्छ।’
तर रेफेनस्पर्जरले जर्जियाको चुनावी परिणाम सही रहेको भन्दै अस्वीकार गरेको बताइएको छ। जर्जियाको चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले जित हासिल गरेका थिए।
मतदानलगत्तै ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका थिए। तर उनले यसबारेमा कुनै प्रमाण सार्वजनिक गरेका थिएनन्। अमेरिकामा सबै ५० वटै राज्यको चुनावी परिणामलाई प्रमाणित गरिसकिएको छ। अमेरिकी अदालतले पनि जो बाइडेनको जितविरुद्ध दायर भएका ६० वटा मुद्दा खारेज गरिसकेको छ।
अमेरिकी कंग्रेसले ६ जनवरीमा चुनावी परिणामलाई स्वीकार गर्नेछ भने जो बाइडेनले २० जनवरीमा राष्ट्रपति पदको सपथ लिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।