काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली निकट कर्णाली प्रदेशका दुई जना मन्त्रीहरू प्रचण्ड-नेपाल पक्षको नेकपा प्रवेश गर्ने भएका छन्।
कर्णालीका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा प्रचण्ड-नेपाल पक्षमा प्रवेश गर्न लागेको स्थायी कमिटी सदस्य गणेश साहले बताए।
पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरमा एक कार्यक्रमका बीच उनीहरूलाई स्वागत गर्न लागिएको साहले जानकारी दिए।ओलीलाई साथ दिँदै आएका रावल र बुढा प्रचण्ड-नेपाल पक्षमा प्रवेश गर्न लागेका हुन्। यस्तै प्रदेश सांसद पदमबहादुर रोकाया पनि दुई मन्त्रीसँगै प्रचण्ड-नेपाल पक्षमा आएका छन्।
कर्णाली प्रदेशमा कुल ४० सांसद मध्ये ३३ नेकपाको भएपनि प्रचण्ड–नेपाल पक्षको मात्रै २२ जना सांसद पुगेका छन्।
रावल बुढा प्रचण्ड–नेपाल पक्षमा प्रवेश गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिने भएको छ। उनी प्रदेश सभामा बहुमत भएकाले मुख्यमन्त्री पद सुरक्षित भएको हो। ओली पक्षका ११ जना मात्रै सांसद भएकाले मुख्यमन्त्रीलाई खासै समस्या नहुने भएको छ।
यस्तै नेकपाका तर्फबाट प्रदेशसभा सांसद बनेका धर्मराज रेग्मी र ठम्मर विष्टले अझै कित्ता स्पष्ट गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।