फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुर्गन्ध फैलाएकाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेको बताएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन गर्दै ओलीले पार्टीमा फर्किन पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षलाई आग्रह गरेका छन्।
'पार्टीको मिटिङमा आउनुस्। अपराधहरु क्षमा गरिदिउँला। कार्यकारी मैले दिएको थिएँ। तर उपद्रव मच्चाउनुभयो। मैले कार्यकारी हटाइदिएको छु। अध्यक्षको पद अहिले पनि कायमै राखेको छ', उनले भने।
उनले वरिष्ठ नेताहरुको पद पनि कायमै राखेकाले फर्किने आग्रह गरे।
'प्रवक्ता भनेर तोकिदिएको थियो। तर उनले साह्रै बढी दुर्गन्ध फैलाउने काम गर्नुभयो। त्यसकारण प्रवक्ताबाट हटाइएको छ। तर सचिवालय सदस्य कायमै राखिएको छ', उनले भने।
उनले आफूले कसैलाई कारबाही नगरेको बताए। 'हामीले कारबाही गरेका छैनौं। आफ्नै साथीले गरेको उपद्रव सहनुपर्छ', उनले भने।
ओलीले सूर्य चिह्न आफूहरुले नै पाउने दाबी गरे। 'हाम्रो सूर्य चिह्न पाइँदैन भनेर साथीहरुमा चिन्ता छ। हामीले नपाए कसले पाउँछ त?', उनले भने।
उनले आफूले भरसक पार्टी जोगाएर लैजान चाहेको बताए। 'निर्वाचन आयोगमा केही मान्छे पुगेछन् र असली पार्टी हामी हौं भनेछन्। केही मान्छे केन्द्रीय कमिटीमा आएनन्। तर किन आएनन्। सम्पूर्ण सदस्य मध्ये १० देखि १५ प्रतिशत आएनन्। तर किन आएनन् भनेको त निर्वाचन आयोगमा गएर भनेछन्- हामी बहुमत हौं। उनीहरुलाई लाज छैन', उनले बताए।
पार्टी फुटाउन खुमलटारमा २८० वटा बैठक
ओलीले गएको वैशाख १३ देखि पुस ४ गतेसम्म खुमलटारमा मात्रै पार्टी फुटाउन २८० वटा बसेको दाबी गरे।
उनले आफूले आइतबार बिहान मात्रै रेकर्ड हेर्दा सो तथ्यांक पाएको बताए।
'३५ वटा बैठक बाहिर बसेका रहेछन्। कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेज, कहिले अगेनाको डिल अर्याल, कहिले कसको घर त कहिले कसको घर', उनले भने।
उनले यसरी बसेका जम्मा ३१५ वटा बैठक नेतृत्वलाई खुइल्याउने र सरकारलाई बदनाम गराउनेमा केन्द्रित भएको आरोप लगाए।
'खुद्रा मसिना बैठकको हिसाब छैन', उनले भने।
चुनाव तोकिएकै समयमा हुन्छ
ओलीले तोकिएको मितिमै चुनाव हुने बताएका छन्। उनले चुनाव नहोला कि भनेर भनेर भ्रममा नपर्ने आग्रह गरे।
'कतिपय व्यक्ति र शक्तिहरुले चुनाव हुँदैन भनेर भ्रम फैलाउन खोजिरहेका छन्। साथीहरुलाई आग्रह गर्न चाहन्छु- भ्रममा नपर्नुस्। वैशाख १७ र २७ गते चुनाव हुन्छ। कसैले पनि टार्न सक्दैन। चुनाव तोकिएकै समयमा हुन्छ', उनले भने।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिँदा वैशाख १७ र २७ गतेका लागि चुनावको मिति तोकिएको थियो।
उनले प्रतिनिधि पुनःस्थापित नहुने दाबी गरे। 'संविधान र कानुनले पुनः स्थापित गर्न मिल्दैन। त्यसैले विघटित संसद् बौरिदैन। चुनाव हुन्छ हुन्छ। देशलाई अलमलमा बस्न दिँइदैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।