फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नै कीर्ते कामको साक्षी बसेको आरोप लगाएका छन्। आफूनिकटका अनेरास्ववियूको भेलामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।
प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा सभामुख सापकोटा कीर्ते कामको साक्षी बसेको उनको आरोप थियो। 'सभामुखजस्तो मान्छेले साढे ३ बजे लगेको निवेदन बिहान साढे १० मा नै आएको भनेर कीर्ते साक्षी बस्नु भएको छ। सभामुखजस्तो मान्छे कीर्ते कामको साक्षी बस्नु कहाँसम्म लज्जाजनक? कहाँसम्मको हविगत?,' उनले भने।
साढे ३ बजे मात्र अविश्वासको प्रस्ताव दर्ता भएको उनको भनाइ थियो। संसद् सचिवालयले पनि साढे ३ बजे मात्र अविश्वास प्रस्ताव दर्ता भएको यसअघि नै उल्लेख गरेको समे उनले स्मरण गरेका थिए।
चुनाव तोकिएकै समयमा हुन्छ
ओलीले तोकिएको मितिमै चुनाव हुने बताएका छन्। उनले चुनाव नहोला कि भनेर भनेर भ्रममा नपर्ने आग्रह गरे।
'कतिपय व्यक्ति र शक्तिहरुले चुनाव हुँदैन भनेर भ्रम फैलाउन खोजिरहेका छन्। साथीहरुलाई आग्रह गर्न चाहन्छु- भ्रममा नपर्नुस्। वैशाख १७ र २७ गते चुनाव हुन्छ। कसैले पनि टार्न सक्दैन। चुनाव तोकिएकै समयमा हुन्छ', उनले भने।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिँदा वैशाख १७ र २७ गतेका लागि चुनावको मिति तोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।