काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गएको वैशाख १३ देखि पुस ४ गतेसम्म खुमलटारमा मात्रै पार्टी फुटाउन २८० वटा बसेको दाबी गरेका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन गर्दै उनले आफूले आइतबार बिहान मात्रै रेकर्ड हेर्दा सो तथ्यांक पाएको बताए।
'३५ वटा बैठक बाहिर बसेका रहेछन्। कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेज, कहिले अगेनाको डिल अर्याल, कहिले कसको घर त कहिले कसको घर', उनले भने।
उनले यसरी बसेका जम्मा ३१५ वटा बैठक नेतृत्वलाई खुइल्याउने र सरकारलाई बदनाम गराउनेमा केन्द्रित भएको आरोप लगाए।
'खुद्रा मसिना बैठकको हिसाब छैन', उनले भने।
चुनाव तोकिएकै समयमा हुन्छ
ओलीले तोकिएको मितिमै चुनाव हुने बताएका छन्। उनले चुनाव नहोला कि भनेर भनेर भ्रममा नपर्ने आग्रह गरे।
'कतिपय व्यक्ति र शक्तिहरुले चुनाव हुँदैन भनेर भ्रम फैलाउन खोजिरहेका छन्। साथीहरुलाई आग्रह गर्न चाहन्छु- भ्रममा नपर्नुस्। वैशाख १७ र २७ गते चुनाव हुन्छ। कसैले पनि टार्न सक्दैन। चुनाव तोकिएकै समयमा हुन्छ', उनले भने।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिँदा वैशाख १७ र २७ गतेका लागि चुनावको मिति तोकिएको थियो।
उनले प्रतिनिधि पुनःस्थापित नहुने दाबी गरे। 'संविधान र कानुनले पुनः स्थापित गर्न मिल्दैन। त्यसैले विघटित संसद् बौरिदैन। चुनाव हुन्छ हुन्छ। देशलाई अलमलमा बस्न दिँइदैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।