काठमाडौं–कर्मचारीले खेलाँची गरी कोराना संक्रमित यात्रुलाई जहाज चढाउँदा त्यसको प्रत्यक्ष असर एयरलाइन्स कम्पनीले भोग्नुपरेको छ।
यो घटना हो ३० डिसेम्बरको। प्रत्यक्ष आर्थिक भार भोग्नु परेको एयरलाइन्स राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स हो। कोरोना संक्रमित यात्रु चढाउने कर्मचारीसमेत निलम्बनमा परिसकेका छन्।
डिसेम्बर ३० (पुस १५) मा नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ४१६ को जहाज मलेसियाको क्वालालम्पुरबाट उडान भरेर काठमाडौं आएको थियो। १ सय ४५ यात्रु बोकेको जहाज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। तर, जहाजमा एक जना कोरोना संक्रमित यात्रु रहेको थाहा भएसँगै विमानस्थलले यात्रुलाई जहाजबाट झर्न रोक्यो।
लगभग ५ घन्टासम्म यात्रु जहाजमै रोकिए। अन्ततः यात्रु झारियो। त्यसपछि एयरलाइन्सले ९१ यात्रुलाई घर पठायो भने ५३ जनालाई आइसोलेसनमा राख्नका लागि होटलमा पठाएको थियो। तिनमा एक यात्रु कोरोना संक्रमित थिए।
जहाजमा कोरोना संक्रमित यात्रु चढाएको विषयको दबाब थेग्न नसकेपछि व्यवस्थापनले मलेसियाका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ र स्टेसन म्यानेजरलाई नेपाल फिर्ता बोलाएको छ।
त्यतिमात्रै हैन गल्ती गर्ने कर्मचारीलाई नै होटलमा राखेको ५३ जनाको खर्च तिराउनुपर्ने विषयमा अहिले नेपाल एयरलाइन्समा छलफल भइरहेको छ। नेपाल एयरलाइन्सले अहिले ५३ यात्रुलाई ५ दिनका लागि होटल रोयल कुसुम र बाल्टी इनमा राखेको छ। उनीहरुका लागि सरकारी रेट अनुसार प्रतिदिन प्रतिव्यक्तिको १५ सयका दर झन्डै ४ लाख रुपैयाँ खर्च गर्नु परेको छ भने उडान विश्वसनीयतामाथिको प्रश्न खेप्नु परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।