एजेन्सी–चीनले सरकारी स्वामित्वको औषधि उत्पादक कम्पनी सिनाेफार्मले तयार पारेको कोरोनाविरुद्धको खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ।
उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभावकारी रहेको जनाएको थियो। यसको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन्। युएई र बहराइनले भने सिनाेफार्मले विकास गरेको खोप प्रयोगमा ल्याइसकेका छन्।
चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको यो पहिलो स्वीकृति हो, जसलाई विश्वकै सबैभन्दा बढी जनसंख्यालाई खोप लगाउने मुख्य कदमका रूपमा हेरिएको छ।
चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरू आपतकालीन रूपमा प्रयोग हुँदै आएको छ। सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरस महामारी सुरु भएको थियो।
चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो। त्यहाँ हालसम्म खोपका ४५ लाखभन्दा डोज वितरण गरिसकिएको छ।
बेङजिङले चिनियाँ नयाँ वर्षको सुरुवातदेखि फेब्रुअरीको मध्यसम्ममा करोडौँ सर्वसाधारणलाई खोप लगाउने अपेक्षा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।