पेरिस–फ्रान्सले नयाँ वर्षको पूर्वसन्ध्या (न्यु इयर इभ) हुने पार्टीमा कडाइ गर्न १ लाख प्रहरी परिचालन गर्ने भएको छ। बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले यस्तो कदम चाल्न लागेको हो।
गृहमन्त्री जेराल्ड डार्मानिनले सिटी सेन्टरमा प्रहरी उपस्थितिका लागि निर्देशन दिइसकेका छन्। ती स्थानमा राति ८ बजेदेखि प्रहरी खटाइनेछन्। पेरिसमा साँझमै आधाजति मेट्रो लाइन बन्द गरिनेछन् भने सार्वजनिक यातायात बन्द गर्न पनि गृहमन्त्रीले आग्रह गरेका छन्।
मानिस तथा सवारीसाधनमा खानतलासीका लागि गस्ती पनि खटाइने छ। गोप्य रुपमा हुने न्यु इयर इभका पार्टीमा हस्तक्षेप गर्न, सहभागीलाई जरिवाना गर्न र आयोजकको पहिचान गर्न पनि सुरक्षा अधिकृतहरुलाई निर्देशन दिइएको छ। गृहमन्त्रीले प्रज्वलनशील पदार्थको बिक्री नगर्न पनि व्यापारीहरुलाई आग्रह गरेका छन्। गत वर्ष न्यु इयर इभका बेला फ्रान्सभर करिब १५ सय कार जलाइएको थियो। त्यस्तो घटना दोहोरिन सक्ने आशंकामा प्रशासनले कडाइ गरेको बताइएको छ।
फ्रान्समा हाल २६ लाख कोरोना संक्रमित छन् भने ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।