काठमाडौं–नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल वायुसेवा निगमभित्रका समस्या समाधान गर्नु आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण एजेण्डा रहने बताएका छन्। मंगलबार निगमको स्थलगत निरीक्षण गरेपछि मन्त्री ढकालले आफूले निगमभित्रको प्रदूषणलाई इमानदारीपूर्वक शुद्धीकरण गर्नेसमेत धारणा राखेका छन्।
निगमका उच्चपदस्थ कर्मचारीसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले निगमलाई समयसापेक्ष सुधार र परिवर्तनद्वारा उपलब्धिमूलक बनाउनु आवश्यक रहेकोसमेत बताए। ‘निगमको विकासमा कुनै प्रदुषण छ भने इमान्दारीपूर्वक शुद्धीकरण गर्दै जानुपर्छ, लक्ष्य ठूलो राखेर मात्र हुँदैन उपलब्धितर्फ पनि विशेष ध्यान दिनुपर्यो,’ उनले भने।
मन्त्री ढकालले निगमको उन्नतिमा आफ्नो तर्फबाट हरसम्भव सहयोग हुने र राजनैतिक हस्तक्षेप नहुनेसमेत विश्वास निगम नेतृत्वलाई दिलाएका छन्। ‘निगमका समस्या समाधान गर्न सहज छैन। तर हामी सबैले प्रतिबद्धताका साथ योगदान गरेमा असम्भव भन्ने केही छैन,’ ढकालले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले राष्ट्रिय ध्वजावाहकको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्य बढाउँदै लैजानुपर्ने आवश्यकता औल्याउँदै भएको स्थिर सम्पत्तिलाई आयमूलक क्षेत्रमा परिवर्तन गरी वित्तिय सुदृढतातिर लाग्न निर्देशन दिए। सचिव कोईरालाले सकारात्मक सोचसहित सरकारले पूँजी बढाउने काममा सहयोग गर्ने विश्वास दिलाउँदै कर्मचारी पाल्न ऋण लिन नपरेकोमा निगमको सराहनासमेत गरे।
निगमको आगामी कार्यनीति, कार्यक्रम र गतिविधिबारे मन्त्रीलाई जानकारी दिँदै निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले प्रशासन, पारदर्शिता, सूचना प्रविधिको विकास, जनशक्तिको उचित उपयोग र सीप विकाससहित अगाडि बढ्न निगम तदारुकताका साथ लागेको बताए। उनले आन्तरिक उडानलाई दुर्गम क्षेत्रमा कायम राख्ने विषय निगमको सामाजिक उत्तरदायित्वका रुपमा लिएको बताए। ‘निगमले दुर्गम उडानलाई आफ्नो सामाजिक उत्तरदायित्वका रुपमा आत्मसात गर्दै आएको छ,’ पौडेलले भने, ‘निगमले अन्तर्राष्ट्रिय गन्तव्य बढाउने लक्ष्य राखेको छ भने हिन्दूबहुल भारत र बौद्धबुहल चीनबाट यात्रुको प्रवाह बढाउन निगम क्रियाशील रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।