काठमाडौं- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपाल वायुसेवा निगमलाई समयसापेक्ष सुधार गर्नुपर्ने बताएका छन्। मंगलबार अपरान्ह नेपाल वायुसेवा निगमको स्थलगत निरीक्षणपछि उच्चपदस्थ कर्मचारीसँगको अन्तर्क्रिया कार्यक्रममा निगमलाई समय सापेक्ष सुधार गरी उपलब्धिमूलक बनाउनु आवश्यक भएको बताएका हुन्।
मन्त्री ढकालले निगमका सामु समस्या भएको र समाधान सहज नभएको बताए। निगममा भएका प्रदुषण शुद्धीकरण गर्दै जानु पर्नेसमेत उनको भनाइ थियो।
'लक्ष्य ठूलो राखेर मात्र हुँदैन, उपलब्धितर्फ पनि विशेष ध्यान दिनु पर्दछ। निगमको विकासमा कर्मचारी मात्र होइन, उच्च सरकारी निकायसमेत जिम्मेवार हुनुपर्छ,' मन्त्री ढकालले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले राष्ट्रिय ध्वजावाहकको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्य बढाउँदै लैजानुपर्ने आवश्यकता औल्याएका थिए।
निगम संचालक समितिका अध्यक्ष सुशील घिमिरेले कोभिडले ठूलै पीडा दिएको बेलामा पनि निगमले सक्रियतापूर्वक औषधि ढुवानीदेखि उद्धार उडानबाट समेत उल्लेखनीय योगदान गरेको स्मरण गराएका थिए।
निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले निगमको कार्यनीति, कार्यक्रम र गतिविधिबारे विस्तृत जानकारी गराउँदै प्रशासन, पारदर्शिता, सूचना प्रविधिको विकास, जनशक्तिको उचित उपयोग र सीप विकास सहित अगाडि बढ्न निगम तदारुकताका साथ लागेको उल्लेख गरे। निगमले आन्तरिक उडानलाई दुर्गम क्षेत्रमा कायम राख्ने आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय गन्तव्य बढाउने लक्ष्य राखेको छ उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।