काठमाडौं– कामदारलाई अनधिकृत रुपमा वैदेशिक रोजगारीमा पठाउन सक्रिय अर्चिड म्यानपावर (लाइसन नम्बर ८८९) मा वैदेशिक रोजगार विभागले छापा मारेको छ।
कामदारलाई भिजिट भिसामा युएई पठाउन लागेको अवस्थामा मंगलबार विभागको टोलीले सो म्यानपावरमा छापा मारेको हो।
विभागको अनुगमन टोलीले उक्त म्यानपावरमा छापा मार्ने क्रममा ८ जना युवाहरुको भिजिट भिसा निकालेको काजगात फेला पारेको विभागका अनुसन्धान अधिकृत कुशल बरालले नेपाल लाइभलाई बताए।
सो म्यानपावरबाट विभागको अनुगमन टोलीले ८ थान पासपोर्ट तथा ८ जनाको भिजिट भिसाको कागजातसहित सिपियुसमेत बरामद गरेको अनुसन्धान अधिकृत बरालले जानकारी दिए।
सिस्टममा अरु प्रमाणहरु समेत फेला पर्ने आशंकामा विभागले सिपीयु समेत बरामद गरेको जनाएको छ। अनधिकृत रुपमा कामदार ओसार्न सक्रिय उक्त म्यानपावर कम्पनीको कारोबार रोक्का राखेर अनुसन्धान प्रकृया अगाडि बढाएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।