पेरिस- सन् २०२० मा विश्वभरी कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरुको हत्या भएको छ। रिपोटर्स विथआउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरुमा भएको उल्लेख गरेको छ।
प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमुलक समाचार लेख्ने पत्रकारहरु बढी प्रभावित भएको औंल्याएको छ।
हत्याका घटना विशेष गरेर मेक्सिको, भारत र पाकिस्तानमा भएको भन्दै त्यहाँका घटनाका बारेमा धेरै चर्चा प्रतिवेदनमा गरिएको छ।
पत्रकार हत्यासम्बन्धी घटनामध्ये ८४ प्रतिशत घटना नियोजित र योजनाबद्ध रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। जबकी गत बर्ष सन् २०१९ मा यस्ता घटना ६३ प्रतिशतमात्रै रहेको पनि बोडर्सले जनाएको छ।
‘यस संस्थाले लामो समयदेखि वार्षिक यस्ता प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ, तर यस्तो अवस्था कमैमात्रै देखिएको थियो,’ रिपोर्टर्स विथआउट बोर्ड्सका प्रधानसम्पादक पौलिन अडेस मेभेलले भने।
सबैभन्दा धेरै पत्रकारको हत्या मेक्सिकोमा भएको पाइएको छ। मेक्सिकोमा आठ पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख छ। उनीहरुको हत्या विशेष गरेर लागुऔषध ओसारपसार र राजनीतिक घटनासँग सम्बन्धित भएर गरिएको उनले जानकारी दिए। मेक्सिकोमा भएको हत्यामा संलग्नमध्ये कसैलाई कारबाही भएको छैन।
अफगानिस्तानमा द्वन्द्वका क्रममा पाँच पत्रकारको हत्या भएको छ। शान्ति वार्ताको प्रयास भइरहे पनि अफगानिस्तानमा लामो समयदेखिको द्वन्द्व अझै कायमै छ।
विश्वभरी अघिल्लो वर्ष सन् २०१९ मा ५३ पत्रकारको हत्या भएको थियो। त्योअनुसार यस वर्षको सङ्ख्या भने कम भएको हो। कोरोना भाइरसको महामारीका कारण हिंसात्मक घटना कम भएको, पत्रकारहरु कार्यक्षेत्रमा कम गएको लगायतका कारणले कमी आएको हुन सक्ने बोर्ड्सले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।