काठमाडौं– वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अनलाईनमार्फत् संसारको जुनसुकै कुनामा बसेर लिन सकिने व्यवस्था आज मंगलबारदेखि सुरु भएको छ। वैदेशिक रोजगार विभागले आजदेखि सो व्यवस्था लागू गरेको विभागका महानिर्देशक कुमार दाहालले बताए।
‘अनलाईनमार्फत् पुनः श्रम स्वीकृति आजदेखि सुरु गरिएको छ। अब संसारका जुनसुकै कुनाबाट श्रमिकहरुले पुनः श्रम स्वीकृति लिन सक्नुहुन्छ,’ विभागका महानिर्देशक दाहालले नेपाल लाईभसँग भने ।
अब रोजगारीका क्रममा विदेशमा रहेकाले विदेशबाटै पुनः श्रम स्वीकृति लिन सक्नेछन्। त्यस्तै रोजगारीबाट बिदामा फर्किएकाहरुले पनि घरबाटै अनलाईनमार्फत् पुनः श्रम स्वीकृति लिन सक्नेछन्।
यो व्यवस्था लागू भएसँगै पुनः श्रम स्वीकृतिका स्वदेश फर्कनुपर्ने तथा वैदेशिक रोजगार कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
त्यस्तै पुनः श्रम स्वीकृतिका नाममा हुने विकृति/विसंगतिसमेत अन्त्य हुने विभागको विश्वास छ। यसअघि पुनः श्रम स्वीकृतिको काम छिटो मिलाई दिने भन्दै श्रमिकहरुसँग दलालहरुले पैसा खाने प्रवृति मौलाएको थियो।
वैदेशिक रोजगारीलाई पारदर्शी बनाउने हिसाबले पुनः श्रम स्वीकृतिलाई अनलाईन प्रणालीमार्फत् दिने व्यवस्था लागू गरिएको हो। विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई यसअघि नै श्रम स्वीकृतिको इलेक्ट्रिक निस्सा (ई–स्टिकर) दिने व्यवस्थासमेत लागू गरिसकेको छ। त्यस्तै केही समय अगाडिमात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकले बिमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम पनि अनलाइन प्रणालीमार्फत् नै भुक्तानी गर्न सक्ने व्यवस्था गरिसकेको छ। श्रमिकहरुले ई–सेवा, फोन पे प्रालि, स्प्यारो पे प्रालिलगायत भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट घरै बसेर अनलाईनमार्फत् बिमा तथा कल्याणकारी कोषको रकम जम्मा गर्न सक्छन्। अन्य भुक्तानी सेवा प्रदायक कम्पनीसँग समेत सहकार्य गरेर थप सहज बनाइने विभागले जनाएको छ ।
विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा लगइन गरीे पुनः श्रम स्वीकृति लिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।