काबुल–तालिवान र अफगान सरकारबीच अर्को चरणको शान्ति वार्ता जनवरी ६ मा कतारको दोहामा हुने भएको छ।
राष्ट्रपति असरफ घानीले दोहामा भएको पहिलो चरणको वार्तापछि स्वदेशमै वार्ताका लागि वातावरण बनाइने बताइरहे पनि तालिवान समूहले सुरक्षाको कारण देखाउँदै अफगानिस्तान फर्किन नमानेको हो।
तालिवान समूह र सरकारबीच दोहाको एक सुविधासम्पन्न होटेलमा सेप्टेम्बर १२ मा पहिलो चरणको वार्ता सुरु भएको थियो। त्यसपछि वार्ता जनवरी ५ सम्मका लागि स्थगित गरिएको थियो।
‘दोस्रो चरणको वार्ता जनवरी ६ देखि दोहामा नै हुनेछ,’अफगानिस्तानको समग्र शान्ति प्रक्रियाको नेतृत्व गरिरहेका राष्ट्रिय मेलमिलाप उच्च परिषद्का प्रवक्ता फराइदुन ख्वाजुनले भने।
‘परिषद्को नेतृत्व समितिले वार्ता दोहामा गर्ने निर्णय गरेको छ,’ उनले ट्वीतमार्फत् भनेका छन्।
समितिको नेतृत्वमा रहेका घानी र अब्दुल्ला अब्दुल्लाबीच आइतबार भेटवार्ता भई वार्ताका लागि स्थान र मिति तय भएको हो । घानीले दोस्रो चरणको वार्तामा सरकारको सहयोग थप सशक्त रहने पनि बताएका छन्।
दुवै पक्षका वार्ताकारहरूले महिनौंदेखिको वार्ताले कुनै औचित्यपूर्ण परिणाम दिन नसकेपछि बैठकलाई केही समयका लागि भन्दै स्थगित गरेका थिए । छलफल र धार्मिक व्याख्याको आधारभूत ढाँचामा दुई समूहबीचको विवाद समाधानतिर जान नसकेपछि वार्ता अवरुद्ध बनेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।