काठमाडौं–एशियाली विकास बैंक (एडिबी) को १८ अर्ब रुपैयाँबाट दुइ वटा विमानस्थलमा पहिलो चरणमा तीन काम हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप संरचना निर्माणका लागि एडिबीसँग १८ अर्ब ऋण लिने सम्झौता सरकारले गरेको थियो। अर्थमन्त्रालयले एडिबीसँग १.५ मिलियन डलर ऋण सम्झौता गरेको थियो।
सोही रकमबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको मास्टरप्लानअन्तर्गत रहेको पश्चितर्फको रनवेको अन्तिम बिन्दुसँग जोडिने ट्याक्सी–वे र पूर्वपट्टी एप्रोन र ह्याङगर निर्माणमा खर्च गर्ने भएको छ।
यसैगरी निर्माण अन्तिम चरणमा पुगको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो आधुनिक सुविधासम्पन्न टर्मिनल भवन निर्माण गर्ने भएको छ। विमानस्थलको ट्याक्सी वे निर्माणका लागि कम्पनी छनोटसमेत भइसकेको छ भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि डिजाइन तय गरी टेन्डर गर्ने तयारी गरेको छ।
यसैगरी प्राधिकरणले दोस्रो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवन निर्माण गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।