काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे निर्माणको डिजाइन र सुपरभिजनका लागि परामर्शदाता कम्पनी छनौट गरेको छ। प्राधिकरणले पुरानो रन–वे र नयाँ रन–वे जोड्न समानान्तर ट्याक्सी वे निर्माणको डिजाइन तथा सुपरभिजनका लागि परामर्शदाता कम्पनी छनौट गरेको हो।
प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरवको आयोजना निर्देशनालयले परामर्शदाता छनौट गर्दै २ पक्षीय सम्झौता गरेको हो।
निर्देशनालयले विमानस्थलको साविकको धावनमार्गलाई समानान्तर ट्याक्सी वे बनाउन आवश्यक डिजाइन तथा सुपरभिजनका लागि भन्दै सिंगापुरे कम्पनीसँग सम्झौता गरेको हो।
निर्देशनालय प्रमुख प्रदीप अधिकारीले कुल २४ करोड ४० रुपैयाँमा परामर्श सेवा उपलब्ध गराउने गरी सिंगापुरको मिन्हार्ट लिमिटेडसँग सम्झौता गरेको जानकारी दिए।
नेपाली कम्पनी कार्ड कन्सल्ट र नेपाल कन्सल्टसँगको समन्वयमा यो कम्पनीले गौतमबुद्ध विमानस्थलको ट्याक्सी वे निर्माणमा परामर्श सेवा दिने उनले जानकारी दिए। केही दिनअघि कम्पनीको नाममा लेटर अफ इन्टेन्ट जारी भएको थियो।
निर्माण अन्तिम चरणमा पुगेसँगै सञ्चालनको तयारी भएको विमानस्थमा अहिले आन्तरिक उडानमा प्रयोग भइरहेको धावनमार्गलाई पुनर्निर्माण गरी समानान्तर ट्याक्सी–वे बनाइने उनको भनाइ छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भौतिक प्रगति ९३ प्रतिशतभन्दा बढी भइसकेको छ। विमानस्थलमा अहिले दक्ष जनशक्ति अभावमा उपकरण जडानको काम रोकिएको छ। दक्ष जनशक्ति चीनबाट आउनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।