चितवन- गीतकार महेश आचार्यलाई २०७६ को 'वर्ष गीत पुरस्कार' प्रदान गरिएको छ। चितवनको नारायणगढमा गीतकार संघ नेपालले शनिबार आयोजना गरेको समारोहमा उनको गीतलाई २०७६ सालभरको सर्वोत्कृष्ट गीत ठहर गर्दै पुरस्कात प्रदान गरिएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आचार्यलाई सम्मान गरेका थिए। छानिएका उत्कृष्ट १० गीतमध्येबाट विशेष समितिले आचार्यको गीतलाई उत्कृष्ट ठहर गरेको हो। पुरस्कृत आचार्यले नगद ५७ हजार प्राप्त गरेका छन्।
संघमा आबद्ध सदस्यहरुको रचनामा २०७६ मा सार्वजनिक भएका र संघमा दर्ता भएका गीतमध्येबाट छनोट समितिको सिफारिसमा उत्कृष्ट १० गीतको छनोट गरिएको संघका अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए।
उत्कृष्ट छानिएको 'थाहा छैन जिन्दगीमा' बोलको गीत आचार्यका शब्दमा तयार भएको हो। गीतमा अन्जु पन्तले स्वर दिएकी छन् भने राम सिटौलाले संगीत भरेका छन्।
यस्तै, गीतकार प्रेम विनोद नन्दनलाई 'अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७६' द्वारा सम्मान गरिएको छ। उनलाई नगद १ लाख ५१ हजारसहित ताम्रपत्रले सम्मान गरियो। डायस्पोरा गीतकार सम्मान बेल्जियमलाई कर्मथलो बनाइरहेका गीतकार अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ।
संघले आफ्नो स्थापना दिवस जेठ १४ मा हरेक वर्ष आयोजना गर्दै आएको कार्यक्रम कोरोना महामारीका कारण ७ महिना पछि सरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।