काठमाडौ- काठमाडौं युरो स्कुलको प्रि स्कुल युरो किड्स गोंगबुले मिस नेपाल नम्रता श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ। नम्रता युरो किड्सकी शिक्षिका हुन्।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र टोखा नगरपालिका वडा नं. ८ का अध्यक्ष केशवबहादुर खत्रीले एक कार्यक्रमबीच नम्रतालाई प्रशंसा पत्र र नगद २५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरे।
नम्रताले हासिल गरेको उपलब्धीका लागि उनलाई सम्मान गरिएको युरो किड्सका निर्देशक प्रमोद पाण्डेले जनाएका छन्।

‘नम्रताले हासिल गरेको उपलब्धीले सिंगो विद्यालय परिवारलाई हर्षितका साथै गौरवान्वित तुल्याएको छ। पुरस्कार रकम सानै भए पनि सफलताको कदर स्वरुप हामीले नम्रतालाई सम्मान गरेका हौँ’ निर्देशक पाण्डेले भने। निर्देशक पाण्डले नम्रता एक असल, लगनशील, इमानदार र कर्तब्यनिष्ठ शिक्षिका भएको धारणा व्यक्त गर्दै नम्रताले विद्यालयमा गरेको कार्यको प्रशंसा गरे।
नम्रताले युरो किड्समा करिब दुई वर्ष सेवा गरेकी थिइन्। सम्मानित भएपछि नम्रताले सम्मानका लागि विद्यालय परिवारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालयसँग कुनै न कुनै भूमिकामा जोडी रहने प्रतिबद्धता जनाइन्।
मेयर अधिकारीले आफू पनि पहिले शिक्षण पेशामै संलग्न भएको स्मरण गर्दै शिक्षकमा पढाउने अलावा अन्य खुबी पनि हुन्छ भन्ने कुरा नम्रताले प्रमाणित गरेको विचार व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।