कोरियाको कृषि क्षेत्रमा काम गर्दै नेपाली श्रमिक। काठमाडौं- आप्रवासी कामदार महासन्धि पारित भए नेपाली महिला कामदारले राहत पाउने सरोकारवालाले बताएका छन्। आप्रवासी कामदारको अधिकार दिवसका अवशरमा आयोजित कार्यक्रममा सरोकारवालाले आप्रवासी महिला कामदारको हक हित संरक्षण गर्न महासन्धिले ठूलो सहयोग गर्ने बताएका हुन्।
महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महासन्धि अनुमोदन भए सबै आप्रवासी कामदार र तिनीहरुका परिवारका सदस्यहरुको अधिकार संरक्षणमा सहयोग पुग्ने बताए। महासन्धिले कामदार उत्पत्तिको देश र रोजगारीका लागि जाने देशको दायित्व र के गर्ने भन्ने कुरा बोलेकोले अनुमोदनको आवश्यकता रहेको उनले बताए।
आप्रवासी महिला कामदार समूहका अध्यक्ष विजया राई श्रेष्ठले नेपाली महिला कामदारमाथि समय समयमा हुने प्रतिबन्धले समस्या हुने गरेको बताए। प्रतिबन्धका कारण महिला कामदारले धेरै दुःख पाउने गरेको उल्लेख गर्दै उनले महासन्धि अनुमोदन भएपनि महिला कामदारले राहत पाउने बताए।
महासन्धिमा कुनै पनि राष्ट्र छोड्न पाउने र उत्पत्तिको राष्ट्रमा कुनै पनि समयमा प्रवेश गर्न र रहन पाउने अधिकारको संरक्षण गरिएको छ। यस्तै कामदारको बाँच्न पाउने अधिकार, यातना, क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको अधिकार र दासता विरुद्ध संरक्षणको अधिकार पनि संरक्षण गरिएको छ।
कठोर श्रमसहित कारावासको सजाय पाएको अवस्थाबाहेक अन्य अवस्थामा अनिवार्य श्रमविरुद्ध संरक्षणको अधिकार, मान्यता, विवेक र धर्मको स्वतन्त्रतासम्बन्धी अधिकार तथा विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकार पनि समेटिएको छ।
यस्तै गोपनीयता, पत्राचार र संचारमाथिको स्वेच्छाचारी हस्तक्षेपविरुद्ध संरक्षणको अधिकार राष्ट्रको कन्सुलर वा कूटनीतिक निकायबाट संरक्षण तथा सहयोगको याचना गर्न पाउने अधिकार र रोजगारी राष्ट्रको नागरिकसरह न्यूनतम रोजगारीको सहुलियत र सुविधा प्राप्त गर्ने अधिकार पनि महासन्धिमा समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।