काठमाडौं– वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अब अनलाइनमार्फत् घरै बसेर व्यक्ति स्वयम्ले लिन सक्ने व्यवस्था हुने भएको छ।
सो व्यवस्थाअनुसार रोजगारीका क्रममा विदेशमा रहेकाले विदेशबाटै पुनः श्रम स्वीकृति लिन सक्नेछन्। त्यस्तै रोजगारीबाट बिदामा फर्किएकाहरुले पनि घरबाटै अनलाइनमार्फत् पुनः श्रम स्वीकृति लिन सक्नेछन्।
एकसाताभित्रै संसारको जुनसुकै कुनाबाट पुनः श्रम स्वीकृति यो साताभित्रै त्यस्तो व्यवस्था गर्न लागिएको वैदेशिक रोजगार विभागका निर्देशक टिकामणी नेउपानेले बताए।
निर्देशक नेउपानेले नेपाल लाईभसँग कुरा गर्दै भने, ‘खास विदेशस्थित कुटनीतिक नियोगहरुबाट पुनः श्रम स्वीकृति लिन मिल्ने व्यवस्था गराउने भन्ने सरकारको लक्ष्य थियो। सोही लक्ष्यमाथि रहेर त्यो व्यवस्थालाई थप सहज बनाउँन। श्रमिक जहाँ हुनुहुन्छ त्यहिँबाट श्रम स्वीकृति लिन सक्ने व्यवस्था गर्न लागेका हौँ।’
उनका अनुसार अबको ३ दिनभित्र संसारको जुनसुकै कुनामा बसेर पनि श्रमिकहरुले पुनः श्रम स्वीकृति लिन सक्नेछन्।
‘अबको ३ दिन भित्र श्रमिकहरुले संसारको जुनसुकै कुनामा बसेर आफ्नो घर, कोठाभित्र रहेर पुनः श्रम स्वीकृति लिन सक्नुहुन्छ,’ निर्देशक नेउपानेले भने।
सरकारले यस अघिनै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई श्रम स्वीकृतिको इलेक्ट्रिक भिस्सा (ई–स्टिकर) दिने व्यवस्था लागू गरिसकेको छ। त्यस्तै गरी केही समय अगाडी मात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकले बिमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम पनि अनलाइन प्रणालीमार्फत् नै भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ।
जसका लागि ई–सेवा, फोन पे प्रालि, स्प्यारो पे प्रालिलगायत भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट घरै बसेर अनलाइनमार्फत् बिमा तथा कल्याणकारी कोषको रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ। उपलब्ध अन्य भुक्तानी सेवा प्रदायक कम्पनीसँग समेत सहकार्य गरेर थप सहज बनाइने उल्लेख गरिएको छ।
वैदेशिक रोजगारीमा जानका लागि आवश्यक सबैजसो प्रकृया अनलाइनमार्फत् नै गइसकेकाले पुनः श्रम स्वीकृति पनि अनलाइनमार्फत् नै दिने व्यवस्था गर्न लागिएको विभागका निर्देशक नेउपानेले बताए।
सेवाग्राहीलाई सहज
यो व्यवस्था लागू भएसँगै पुनः श्रम स्वीकृतिका लागि श्रम कार्यालय धाउनुपर्ने बाध्यताबाट छुटकारा मिल्ने भएको छ। श्रम स्वीकृति नवीकरणका लागि स्वदेश फर्कनै पर्ने श्रमिकहरुको बाध्यता यो व्यवस्था लागू भएसँगै हट्नेछ। यसले वैदेशिक रोजगारीमा रहेका तथा फर्किएर पुनः जाने तरखरमा रहेका श्रमिकहरुलाई थप सहज हुने विश्वास विभागको छ।
दलाली प्रथा अन्त्य भई पारदर्शी सेवा उपलब्ध हुने विश्वास
वैदेशिक रोजगारीलाई मर्यादित तथा पारदर्शी बनाउन अघि सारिएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) अन्तर्गत पुनः श्रम स्वीकृतिलाई अनलाईनमार्फत नर्ग लागिएको विभागले जनाएको छ। यसले गर्दा पुनः श्रम स्वीकृतिका नाममा हुने प्रवृत्ति तथा विसंगति अन्त्य हुने विश्वास विभागको छ।
‘पुनः श्रम स्वीकृति अनलाईन प्रणालीमा जाने बित्तिकै दलाली प्रथा अन्त्य हुने विश्वास हामीले लिएका छौँ,’ निर्देशक नेउपाने भन्छन्, ‘किनभने अहिले श्रम स्वीकृतिका लागि श्रम कार्यालयमा देखिएको भीडको ८० प्रतिशत पुनः श्रम स्वीकृतिकै लागि आउनेहरुको हो। हामीले कडाइ गर्दागर्दै भीडको फाइदा उठाउनेहरु अब पलायन हुन्छन्।’
यो व्यवस्थाबाट हजारौँको संख्यामा श्रमिकहरु लाभान्वित हुने भएका छन्।
यसअघि वैदेशिक रोजगार ऐन संशोधन गरी विदेशस्थित कुटनीतिक नियोगहरुबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।