काठमाडौं–अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रालिले उखु किसानको आन्दोलनमा घुसपैठ भएको अभिव्यक्ति दिएको छ। उक्त चिनी मिलले मंगलबार विज्ञप्ति जारी गर्दै उखु किसान संघर्ष समितिका सचिव हरिश्याम राय वास्तविक उखु किसान नभई बिचौलिया रहेको र उनले किसानका नाममा मोलमोलाई गरिरहेको आरोपसमेत लगाएको छ।
‘आन्दोलनको नेतृत्व गरिरहेका आफूलाई कृषक आन्दोलनका सचिव बताउने हरिश्याम राय बिचौलिया हुन र यो आन्दोलनको नाममा उनले हामीसँग मोलमोलाई गरेको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
आन्दोलनको धम्की दिएर रायले विभिन्न मितिमा चिनी मिलसँग ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भुक्तानी लिएको पनि विज्ञप्तिमा उल्लेख छ। ‘‘भुक्तानी नपाएका किसानसँग उखुका पर्ची सस्तोमा किनेर हामीलाई महंगोमा बेची करोडौं रुपैंयाँ रायले लिएका छन। उनको स्वार्थ अनुसार हामीले पैसा दिन नसकेपछि उनी आन्दोलन भन्दै काठमाडौं आउँछन् र पुनः मोलमोलाई सुरु गर्छन्,’विज्ञप्तिमा भनिएको छ।
अन्नपूर्ण सुगर मिलले अहिले आन्दोलन गरिरहेका रायलगायत व्यक्तिहरु किसान हुन् कि होईनन भन्ने विषयमा छानबिन गरिदिन पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ। ‘हरिश्याम रायले कति जमिनमा खेती गर्छन्? उनको उखुको उत्पादन र बिक्री कति थियो? उनले मिलबाट पाउनुपर्ने रकम कति हो? त्यसबारे निष्पक्ष छानबिनका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।