काठमाडौं–भुक्तानी सेवा प्रदायक सेलकम प्रालि (सेलपे) तथा अनुमतिप्राप्त भुक्तानी सेवा सञ्चालक फोनपे पेमेण्ट सर्भिस लि (फोनपे) बीच सहकार्य भएको छ। यस सहकार्यअन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन्।
सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउन सक्नुका साथै हरेक क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट्स पनि पाउनेछन् । उक्त सम्झौतापत्रमा सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिस लिका तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरे।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बँच्नका लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस् भनी यो सहकार्य गरिएको उल्लेख गरिएको छ। साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाबीच अन्तरआवद्धता भई ग्राहकहरुले फाईदा उठाउन सक्ने छन्।
यस सहकार्यअन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करिब १ लाख ६० हजार मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन्। सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एपबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।
सेलपेबाट विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, ईण्टरनेटको महसुल भुक्तानी, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन–पाउन, बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, विभिन्न पसल तथा रेष्टुरेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, सरकारी दस्तुरहरुको भुक्तानी समयमा गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।