काठमाडौं- वैदेशिक रोजगार कार्यालय, ताहाचल काठमाडौं (श्रम कार्यालय)मा कार्यरत हल्का सवारी चालक (करार) कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।
श्रम स्वीकृतिको काम छिटो मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने कार्यालयका हल्का सवारी चालका (करार) समिर भन्ने धनबहादुर तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा आरोपपत्र दायर गरेको हो।
तामाङले बिचौलिया रामानन्द चौधरीसँग मिलेर श्रम स्वीकृतिको काम छिटो मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अवस्थामा अख्तियारले फेला पारेको थियो।
सेवाग्राहीको श्रम स्वीकृति गराइदिएबापत विभिन्न सेवाग्राहीसँग २८ हजार ५ सय घुस लिएको अख्तियारले जनाएको छ। सेवाग्राहीबाट लिएको घुस रकम वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलको अन्तिम श्रम स्वीकृति दिने शाखामा फालेको अवस्थामा अख्तियारले फेला पारेको थियो।
तामाङको साथबाट २३ हजार ४ सय ५० रुपैयाँ बरामद भएको थियो। उक्त रकमबाट २० हजार ५ सय दसीका रुपमा पेस गरिने र उक्त रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जफत गर्नसमेत अख्तियारको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।