काठमाडौं- यति डिस्ट्रिलरीले ह्विस्की र भोड्काजस्ता पेय पदार्थ बिक्री गरेर ३ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले कस्तुरी, ओल्ड दरवार र ८८४८ भोड्का बिक्रीबाट यो व्यापार गरेको हो।
कम्पनीले उत्पादन गरेका स्वदेशी पेय पदार्थको बजार हिस्सा ४० देखि ५० प्रतिशत रहेको दाबी गरेको छ। कम्पनीले ६/७ वटा ब्रान्डका पेय पदार्थ उत्पादन गर्दै आए पनि ओल्ड दरवार र ८८४८ भोड्काको हिस्सा ९० प्रतिशतभन्दा माथि रहेको छ।
कोभिड-१९ का कारण बिक्री कम हुँदा आम्दानी २० प्रतिशतले घटेको छ। कम्पनीको अघिल्लो वर्षको आम्दानी ४ अर्ब ५० करोड रुपैयाँ थियो। विगतका वर्षमा वित्तीय अवस्था राम्रो रहेता पनि यस वर्ष भने कर्जा लिनु पर्ने बाध्यता बढेको छ।
कम्पनीले यस वर्षका लागि तीन अर्ब १२ करोड रुपैयाँको ऋणका लागि रेटिङ गरेको छ। गत वर्ष पनि यहि रकमको रेटिङ गरिएता पनि पुरै लिएको थिएन। तीन अर्ब १२ करोड मध्ये १७ करोड ८४ लाख रुपैयाँ दिर्घकालीन कर्जा रहेको छ भने २ अर्ब ९४ करोड अल्पकालीन कर्जा अन्तर्गत रहेको छ। वर्किङ क्यापिटलका लागि अल्पकालीन कर्जाको रेटिङ गराएको हो।
गत वर्ष आम्दानीमा भारी गिरावट आए पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राम्रो बिक्री भएकाले यस वर्ष वर्किङ क्यापिटलका लागि धेरै कर्जा आवश्यक नपर्ने देखिएको छ।
कम्पनीले गरेको उक्त ऋणको रेटिङमा 'केयर एनपि एलए' र 'केयर एनपि ए वन' प्राप्त गरेको छ। उक्त रेटिङले कर्जाको सुरक्षालाई संकेत गर्दछ। इक्रा नेपालका उक्त रेटिङले कम्पनीको ऋण सुरक्षित रहेको संकेत गर्दछ।
कम्पनीले सन् १९७० दशकमा शङ्कर डिस्ट्रिलरीको रुपमा पेय पदार्थ उत्पादन गर्दै आएको थियो। सन् २०१५ मा २५ अप ओल्ड दरवार ह्वस्की र सन् २०१६ मा ८८४८ भोड्का ल्याएसँगै स्वदेशी बजारमा आफ्नो प्रभाव पार्दै आएको छ।
कम्पनीको ५० प्रतिशत स्वामित्व अभिषेक श्रेष्ठ तथा उनको परिवारको नाममा छ। बाँकी ५० प्रतिशत रवि केसीका नाममा स्वामित्व छ। श्रेष्ठको पृष्ठभूमि होटल तथा हस्पिटालिटी क्षेत्र हो। केसी सूर्य टोवाको तथा आटिसी समूहमा आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।