काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले नै राजावादीलाई उचालिरहेको आरोप लगाएका छन्। पछिल्लो समयमा राजावादीको सडक प्रर्दशनलाई सरकारकै साथ रहेको उनको टिप्पणी छ। नेपाल लाइभसँग कुरा गर्ने क्रममा उनले भने, ‘मेरो आरोप त सरकारले नै राजवादीहरुलाई उचालिरहेको छ भन्ने हो।’
तर राजावादीको प्रदर्शनले राजा फर्किने कुरा त दिवास्वप्न भएको बताए। संघीयता, गणतन्त्र र संसदीय प्रणालीको विकल्पमा अर्को कुनै प्रणाली सम्भव नभएको दाबी छ। राजावादीलाई लक्षित गर्दै उनले भने, ‘यो संविधानको विकल्पमा अर्को संविधान ल्याउँला भनेर कसैले सोचेको छ भने त्यही सोच्ने सिद्धिन्छ।’
जनता जागरुक रहेको शक्तिशाली पनि रहेको उनको भनाई थियो। ‘यो प्रणाली कसैले उल्ट्याउन सक्छ भन्ने लाग्दैन। तर, हाम्रो चिन्ता सरकारले किन यिनीहरुलाई उचालिरहेको छ भन्नेमा हो,’ उनले भने।
सरकारकै अकर्ण्यताले अन्य शक्ति मौलाउने अवसर पाएको उनको निष्कर्ष छ। संघीय संरचनालाई सुदृढ पार्नुपर्ने सरकारले प्रदेश सरकारलाई निरिह बनाएको उनले आरोप लगाए।
‘सरकारले ७ वटै प्रदेशलाई निरीह बनाएको छ। ती सरकारको आफ्नै प्रहरी संगठन, निजामती सेवा, कर्मचारी हुनुपथ्र्यो।’ उनले भने,‘संविधानमै लेखिएको छ। अहिले त सबै कुरा केन्द्रको नियन्त्रणमा छ। त्यसोभए प्रदेश किन चाहियो?’
केन्द्रले बनाउनुपर्ने कानुन बनाइदिने र प्रदेशले बनाउने कानुनको बाटो खुला गरिदिनुपर्ने उनको धारणा छ। ‘खबरदार तिमीहरुले कानुन बनाउन पाउँदैनौं भन्नु त संघीयताको सिद्धान्त होइन। संविधानले पनि त्यस्तो भनेको छैन,’ निधिले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।