काठमाडौं– मलेसिया सरकारले अवैध रुपमा रहँदै आएका आप्रवासी श्रमिकहरुलाई निश्चित प्रकृया पुरा गरेर वैधानिक हैसियतमा रोजगारीमा संलग्न हुन पाउने व्यवस्था गरेको छ।
त्यस्तै अवैध रुपमा रहँदै आएका आप्रवासीहरु स्वदेश फर्कन चाहेमा तिर्नुपर्ने जरिवानामा समेत सहजीकरण गरिएको छ। यस व्यवस्थाअनुसार मलेसियामा अवैध रुपमा रहँदै आएका आप्रवासीहरु अब न्यून शुल्क जरिवाना तिरेर स्वदेश फर्कन पाउने भएका छन्। मलेसियामा अवैध हैसियतमा रहँदै आएका आप्रवासीका लागि त्यहाँको सरकारले रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत यी दुई वटा अवसरहरु अघि सारेको हो ।
अब भने निश्चित प्रकृया पुरा गरेर अवैध आप्रवासीहरु स्वदेश फर्कन वा त्यहीँ वैधानिक हैसियतले रहेर काम गर्न सक्छन् । यो कार्यक्रमअन्तर्गत स्वदेश फर्कने आप्रवासीहरुले ५ सय मलेसियन रिंगिट जरिवाना तिर्नुपर्दछ । डिसेम्बर २१ गतेदेखि लागू हुने यो कार्यक्रमअन्तर्गत स्वदेश फर्कने आप्रवासीले त्यहाँको अध्यागमन कार्यालयबाट चेकआउट मेमो लिनुपर्ने मलेसियाका लागि नेपाली राजदूतावास क्वालालम्पुरले जनाएको छ ।
त्यस्तै मलेसियामै वैधानिक हैसियतमा रहेर काम गर्न चाहनेहरुले काम गरिरहेको कम्पनी तथा रोजगारदाताहरुको सहयोगमा यस्तो अवसर लिन सक्नेछन्। उत्पादन, कृषि, निर्माण, यातायातलगायत विभिन्न क्षेत्रका कम्पनीमा कार्यरत श्रमिकहरुले रोजगारदातामार्फत् निश्चित प्रकृया पुरा गरी वैधानिक हैसियतमा रहेर काम गर्न सक्नेछन्।
सन् २०२१ जुनसम्म यो अवसर लिन सकिनेछ। अवैध रुपमा मलेसियामा रहेका नेपालीले यी अवसरका लागि दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ। मलेसियामा अवैध रुपमा रहेर काम गर्ने नेपालीको संख्या बढ्दै गइरहेको छ । अवैध रुपमा रहेर काम गरेको अवस्थामा विभिन्न समस्या झेल्नुपर्ने र केही अप्ठ्यारो परिस्थिति आइपरेमा कानुनी सहायता लिनसमेत असहज हुने हुँदा अवैध रुपमा रहेर काम नगर्नसमेत दूतावासले सुझाएको छ । यससम्बन्धमा थप जानकारीका लागि क्वालालम्पुरस्थित नेपाली दूतावासमा समेत सम्पर्क गर्न सकिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।