काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवा र पोखरामा निर्माण भइरहेका २ वटा विमानस्थलको ग्राउन्डह्यान्डलिङ जिम्मा सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई दिने निर्णय गरेको छ।
केही दिन अगाडि बसेको प्राधिकरण बोर्ड बैठकले निर्माणको अन्तिम चरणमा पुगेको गौतम बुद्ध विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डह्यान्डलिङको जिम्मा नेपाल एयरलाइन्सलाई दिने निर्णय भएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
दुवै विमानस्थल प्राधिकरणले नै सञ्चालन गर्ने भएपछि ग्राउन्डह्यान्डलिङको जिम्मा सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई दिने निर्णय गरिएको उनको भनाइ छ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्डह्यान्डलिङ तथा विमानस्थल सञ्चालनका लागि खुल्ला प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने गरी पहिले नै टेन्डर भएको थियो। तर, गौतम बुद्ध विमानस्थलको सुरुवाती सञ्चालन तत्काल नागरिक उड्डयन प्राधिकरणले नै गर्ने भएको छ। विमानस्थल प्राधिकरण आफैंले सञ्चालन गर्ने भएपछि पहिले गरिएको टेन्डर रद्द गरेर ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालनको जिम्मा नेपाल एयरलाइन्सलाई दिने निर्णय गरिएको हो,’ पोखरेलले भने।
यसैगरी पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालनको काम पनि नेपाल एयरलाइन्सलाई नै दिने निर्णय भएको पोखरेलले जानकारी दिए।
प्राधिकरणले यसै आर्थिक वर्षभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकेर विमानस्थलबाट व्यावसायिक उडान नै सुरु गर्ने लक्ष्य लिइएको छ। विमानस्थल निर्माणमा पछिल्लो समय कोरोनाको प्रत्यक्ष असर देखिएको छ। ९३ प्रतिशत भौतिक प्रगति भएको विमानस्थल निर्माणको काम कोरोनाका कारण अहिले काम ठप्पजस्तै भएको छ। विमानस्थल निर्माणको काम सम्पन्न गर्नुपर्ने अन्तिम समय यही डिसेम्बर ३१ हो। तर, उक्त समयमा काम नसकिने निश्चित भइसकेको छ।
विमानस्थल निर्माणमा आवश्यक दक्ष जनशक्ति चीनबाट नआउँदा उपकरण जडानको काम रोकिएको छ। यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि ६५ प्रतिशतभन्दा बढी भइसकेको छ। विमानस्थल निर्माणको काम सक्ने अन्तिम समय २०२१ जुलाई हो। तोकिएको समयमा विमानस्थल निर्माणको काम सम्पन्न हुने सरकारी दाबी छ।
नेपाल एयरलाइन्सले गौतम बुद्ध र पोखरा विमानस्थलमा ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालनका लागि पूर्वाधार तयार गर्न आइतबार पत्र जाने प्राधिकरणले जनाएको छ।
नेपाल एयरलाइन्सले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउडह्यान्डलिङ सेवा पनि सञ्चालन गरिरहेको छ। नेपाल एयरलाइन्सले ग्राउन्डह्यान्डलिङ सेवाबाट वार्षिक ४ देखि ५ अर्ब आम्दानी गर्दै आएको छ। तर, आर्थिक वर्ष २०७६÷२०७७ र चालू आर्थिक वर्षको आम्दानी घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।