तस्बिर : एयरबस डट कम
काठमाडौं- नेपाल एयरलाइन्सले १७ डिसेम्बर (पुस २) बाट काठमाडौं-दिल्ली उडान गर्ने भएको छ। नेपाल सरकारको प्रस्तावमा भारत सरकारले एयर बबलमा उडान भर्न स्वीकृति दिएलगत्तै नेपाल एयरलाइन्सले पुस २ गतेबाट उडान गर्ने निर्णय गरेको हो।
भारतले बिहीबार दिउँदो काठमाडौं–दिल्ली, दिल्ली–काठमाडौंमा नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै एयर बबल उडान गर्न पाउने गरी दुई देशबीच उडान गर्न स्वीकृति दिने निर्णय गरेको थियो।
सोही निर्णयपछि नेपाल एयरलाइन्सले पुस २ गतेबाट एयरबस-३२० बाट उडान सुरु गर्ने र यात्रुको चाप हेरेर वाइडबडीमार्फत् पनि उडान गर्ने जनाएको छ। एयर बबल उडान अन्तर्गत नेपाल एयरलाइन्स र एयर इन्डियाले दैनिक १-१ वटा उडान गर्नेछन्।
एयर बबल उडानमा भारतीय र नेपाली नागरिकलाई उडान सेवा प्रदान गर्न पाइन्छ।
गत चैत ११ गते लकडाउन घोषणा हुनुभन्दा केही दिन अघिदेखि नेपालले सबै अन्तराष्ट्रिय उडान सेवा बन्द गरेको थियो।
(यसअघि समाचार शीर्षकमा '९ महिनापछि' हुनुपर्नेमा अन्यथा भएकाले पाठकवर्गमा पर्न गएको सन्देहप्रति क्षमायाचना गर्दै सच्याइएको छ। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।