काठमाडौं- कोरोना भाइरस महामारीले गर्दा विदेशमा रोजगारी गुमाएका, अलपत्र परेका र विभिन्न समस्या भई स्वदेश फर्केका श्रमिकलाई स्वदेशमै स्थापित गर्नुपर्ने एनआरएनएका उपाध्यक्ष डा. बन्द्री केसीले बताएका छन्। हाम्रो सम्मान परियोजनाको संयोजकत्वमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘कोभिड- १९ को सन्दर्भमा गैरआवासीय नेपाली संघको भूमिका’ शीर्षकको भर्चुअल कार्यक्रममा बोल्दै डा.केसीले यस्तो बताएका हुन्।
एनआरएनले कोरोनाको समयमा विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका श्रमिकलाई व्यवस्थापन गर्न करिब २५ करोड खर्च भएको उनले जानकारी दिए। तर, अहिले कोरोनाले गर्दा अवस्था सामान्य भएता पनि विगतका दिनमा अलपत्र परेका श्रमिक विदेश आउन नचाहने अवस्था रहेको बताए। यसले गर्दा स्वदेशमै श्रम गर्न इच्छुक श्रमिकलाई स्वदेशै व्यवस्थापन गरी रोजगारी सिर्जना गर्नका लागि श्रम मन्त्रालय, कृषि मन्त्रालय, पराराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालयलगायत विभिन्न संघसंस्थासँग एनआरएनले छलफल गरिरहेको बताए। साथै, एनआरएनले स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि विभिन्न निकायलाई सामेल गराई छिट्टै रोजगार सम्मेलन गर्ने जनाए।
यस्तै, नेपालमा विभिन्न राष्ट्रिय गौरबको आयोजना रहेता पनि उक्त आयोजनामा अधिकांश विदेशी श्रमिक भएकाले उक्त आयोजनामा नेपाली श्रमिकलाई स्थापित गरी रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए।
करिब २८ लाख नेपाली श्रमिक विदेशिएर वार्षिक ८ खर्ब नेपालमा रेमिट्यान्स भित्र्याउँदा करिब ४ खर्ब रकम नेपालबाट विदेशिएकाले सो रकममा नेपाली श्रमिकलाई व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
‘नेपालका विभिन्न ठूला–ठूला आयोजना तथा राष्ट्रिय गौरवका आयोजनामा अधिकांश विदेशी श्रमिकले खाडी मुलुकमा नेपालीले गरेको जस्तै मजदुर गरेर ४ खर्ब देशबाहिर रकम लाने गरेका छन्,’ उनले भने, ‘उक्त आयोजनामा विदेशी श्रमिकको ठाउँमा नेपाली श्रमिकलाई स्थापित गरी रोजगारी सिर्जना गर्नुपर्छ।’
साथै, विदेशबाट आएका श्रमिकको जुन सीप विदेशमा सिकेर आएको छ। त्यही क्षेत्रमा रोजगारी पाउन निकै कठिन भएकाले सीप पहिचान गरेर लगानी गरी विकास गर्नुपर्ने उनले जोड दिए।
त्यसैगरी, एनआरएनले वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एनआरएन, सरकार र अन्य संघसंस्थाहरूसँग समन्वय गरेर आगाडि बढ्नुपर्ने जनाए।
त्यस्तै, विदेशमा श्रम गरेर नेपाली श्रमिकले व्यवसायीक कृषिमा पनि ध्यान दिनुपर्ने उनी बताउँछन्। ‘विदेशमा कतिपय नेपालीले वर्षौं व्यवसायिक कृषिमा संलग्न भई काम गरेर फर्केका छन्। उक्त सीपलाई नेपालमै पनि विकास गर्नुपर्छ,’ उनले भने, ‘अहिलेसम्म पनि नेपालमा परम्परागत कृषिमै निर्भर छन्। त्यसैले जबसम्म व्यवसायीक कृषिमा जोड दिँदैनन् तबसम्म नेपालका कृषिमा विकास हुँदैन।’
साथै, विदेशबाट फर्केका श्रमिकले जति जमिन भएपनि उक्त जमिनमा कृषि गर्न पनि उनले सुझाए। यसले गर्दा विदेशमा खर्चेको समयले विदेशभन्दा बढी पैसा कमाउन सफल हुने उनको बुझाइ छ।
यस्तै, विगतको दिनमा वैदेशिक रोजगारमा कति महिला र पुरूष छन् भन्ने यकिन तथ्याङ्क नभएको अवस्थामा कोरोनाले गर्दा विदेशमा रहेको श्रमिकको यकिन तथ्याङ्क संकलन गर्न सफल भएको एनआरएनएकी प्रतिनिधी तथा महिला संयोजक यस्मिन बेगमले बताइन्।
उनका अनुसार कोरोनाको समयमा एनआरएनबाट विदेशमा समस्यामा परेका श्रमिकलाई धेरैभन्दा धेरै सहयोग गरी नेपाल फर्काइएको र अलपत्र परेका महिलालाई आवासको व्यवस्था गरेको जानकारी दिइन्। साथै, रोजगारी गुमाएका, खाना नपाएका र घर जानलाई खर्च नभएका नेपाली श्रमिकलाई खर्चको व्यवस्था गरी घरसम्म पर्याइदिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।