काठमाडौं–लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अटाउन सक्ने अन्तर्राष्ट्रिय सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
कोभिड–१९ का कारण प्रभावित भएका कामहरुले अहिले विस्तारै गति लिन थालेका छन्। सभाहलको निरीक्षण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले तत्काल निर्माणको कामलाई तीव्रता दिँदै तोकिएकै समयमा काम सम्पन्न गर्नसमेत निर्देशन दिएका छन्। मन्त्री भट्टराई र मन्त्रालयका सचिव यादवप्रसाद कोईराले स्थलगत निरीक्षण गर्दै कामको प्रगतिको विवरणसमेत लिएका छन्।

अहिले सभाहलको भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको छ भने फल्स सिलिङ र अन्य फिनिसिङका काम चलिरहेको छ। ३८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सभाहलको छानो ५० एमएमको ईपीएस स्याण्डवीच प्यानलको ट्रसबाट बनेको छ । सभाहलको उचाइ १२.३३ मिटरदेखि २०.४९ मिटरसम्म छ ।

दक्षिण एशियाकै नमूना र फरक शैलीमा स्टिल र फलामको प्रयोगबाट सभा हल डिजाइन गरिएको छ । कोरियन गुम्बा शैलीको गोलाकार छानो र छानोको बाहिर केन्द्र भागमा बुद्धका दुईवटा आँखा (स्वयम्भूका दुई आँखा) को आकृति बनाउने गरी डिजाइन गरिएको भएको छ। झण्डै ४० करोड रुपैयाँ लाग्ने अनुमानमा काम भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।