काठमाडौं–हवाई उड्डयनसँगसम्बन्धी सेवा सञ्चालन इजाजत लिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नागरिक उड्डयनसँग सम्बन्धी कार्यविधि, २०६६’ संशोधन गर्दै चुक्ता पुँजीको नयाँ दर तोकेको छ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि संशोधन गरेको हो। मन्त्रालयले कात्तिकमा कार्यविधि चौथोपटक संशोधन गर्दै हवाई उड्डयनसँग सम्बन्धी सेवा सञ्चालनको इजाजत लिन आवश्यक चुक्ता पुँजीको सीमा निर्धारण गरेको हो।
मन्त्रालयले देहायको चुक्ता पूँजी कायम गरी कम्पनी वा फर्मको रुपमा दर्ता भएको नागरिक उड्डयनसँग सम्बन्धित संस्थालाई इजाजत–पत्र लिनका लागि निवेदन दिन योग्य हुने सर्त अगाडि सारेको छः
- मनोरञ्जनात्मक वायुसेवा तथा मनोरञ्जनात्मक वायुसेवा प्रशिक्षण संस्था सञ्चालनका लागि कम्तिमा १ करोड रुपैयाँ
- आन्तरिक वायु्सेवा सञ्चालनका लागि कम्तिमा १५ करोड
- अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्न कम्तिमा ५० करोड
- हवाई उडान प्रशिक्षण संस्था (फ्लाईङ्ग स्कुल) सञ्चालन गर्न कम्तिमा १० करोड
- वायुयान र वायुयानका पार्टपूर्जा मर्मत सम्भार संस्था सञ्चालन गर्नका लागि कम्तिमा ५ करोड र वायुयान मर्मत सम्भार प्रशिक्षण संस्था सञ्चालन गर्न कम्तीमा २ करोड
तोकिएको चुक्ता पुँजी राखेर कानुन अनुसार दर्ता भएका र सञ्चालन इजाजत लिएका व्यवसायिक कारोबारमा बहुसंख्या शेयर नेपाली व्यक्तिमा निहित रहेको हुनु पर्ने छ।
साथै मनोरञ्जनात्मक वायुसेवा भन्नाले इन्जिन जोडिएको वा नजोडिएको हावाको माध्यमबाट तैरिने अल्ट्रालाइट, माइक्रोलाइट, प्याराग्ल्याइडर, हयाङग्लाइडर, हट एयर बेलुनिङ्ग, स्काई डाईभ आदि समेत पर्ने मन्त्रालले जनाएको छ।
इजाजत प्राप्त वायुसेवा सञ्चालन संस्थासँग हुनुपर्ने उपकरण
मनोरञ्जनात्मक वायुसेवा तथा मनोरञ्जनात्मक वायुसेवा प्रशिक्षणसँग १ वर्षमा २ वटा, आन्तरिक वायुसेवाका लागि १ वर्षमा ३ वटा, अन्तर्राष्ट्रिय वायुसेवाका लागि १ वर्षमा २ वटा, हवाई उडान प्रशिक्षण संस्था (फ्लाइङ) का लागि १ वर्षमा २ वटा र वायुयान र वायुयान पार्टपुर्जा मर्मत सम्भार संस्थाले २ वर्षमा २ वटा आवश्यक उपकरणबाट सेवा दिनुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।