वातावरणमैत्री शवदाह गृहको अनावरणपछि अवलोकन गर्दै पर्यटनमन्त्री योगेश भट्टराई ।
काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरणमैत्री शवदाह गृहको अनावरण गरेका छन्। पशुपति विकास कोषको दाता परिचालनअन्तर्गत रहेर एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेशीन स्थापना गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने काम भइरहेको बताए। त्यसका लागि पशुपतिको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको भट्टराईले उल्लेख गरे।
‘यहाँको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका पक्षलाई मध्यनजर गर्दै स्थानीयका सरोकारको समेत सम्बोधन हुने गरि गुरुयोजनालाई अन्तिम रुप दिने काम भइरहेको छ, अब पशुपतिमा जे-जति विकास निर्माणका काम हुन्छन्, ती सबै त्यही गुरुयोजना अधिनस्थ भएर हुनेछन्,’ उनले भने।

कोभिड–१९ का कारण बन्द रहेका धार्मिक/सांस्कृतिक गतिविधि अब स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेकाले आगामी पुस १ बाट पशुपति पनि खुला रहने उनले बताए। पशुपतिका धार्मिक/सांस्कृतिक गतिविधि खुला गर्दा स्थानीय निकाय र सरोकारवाला पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न/गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन दिए।
पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउरावाटै शव चलाउने हिन्दु संस्कार पनि जीवित रहने, वातावरणमैत्री, काठको खपत पनि कम हुने र एउटा शव जलाउने कार्य बढीमा डेढ घण्टामा सम्पन्न हुने जानकारी आफूले पाएको उल्लेख गर्दै भट्टराईले संस्कार भनेको मानव जातीले विकास गरेका प्रविधिसँगै परिस्कृत हुँदै जाने बताए।
कार्यक्रमलाई एभरेष्ट बैकका कार्यकारी प्रमुख जिके नेगी र कोषका सदस्य सचिव डा प्रदीप ढकालले पनि सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।