काठमाडौं– वैदेशिक रोजगार विभागले अवैध रुट तथा भिजिट भिसामार्फत् वैदेशिक रोजगारीमा नजान आग्रह गरेको छ ।
युएईलगायत मुलुकमा आकर्षक रोजगारीको प्रलोभनमा पारी विभिन्न व्यक्ति तथा म्यानपावर कम्पनीहरुले समेत भिजिट भिसामा पठाइ कामदार अलपत्र पार्ने प्रवृत्ति बढेकाले सचेत रहन विभागले युवाहरुलाई आग्रह गरेको हो ।
अवैधानिक रुपमा श्रमका लागि भिजिट भिसामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा सुविधा भनेअनुसार नभएमा उजुरीका लागि कानुनी आधार नभएको भन्दै विभागले अवैध प्रकृयामार्फत् वैदेशिक रोजगारीमा नजान आग्रह गरेको हो ।
पछिल्लो समय म्यानपावर कम्पनी तथा एजेन्टहरुले आकर्षक रोजगारीको प्रलोभनमा पारी चर्को रकम असुलेर युवाहरुलाई भिजिट भिसामा पुर्याइ अलपत्र पार्ने प्रवृति बढ्दै गएको पाइएको छ । गैरकानुनी प्रकृया तथा बाटो अंगालेर गएका युवाहरु ठगीने क्रम बढेसँगै विभागमा समेत उजुरी बढेको विभागले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।