काठमाडौं- बागलुङ काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेको हेलिकोप्टरमा सवार यात्रीको विवरण प्राप्त भएको छ। हेलिकोप्टरमा गलकोट नगरपालिका-३ का वडाध्यक्षसमेत रहेका थिए।
दुर्घटनामा परेको हेलिकोप्टरमा गलकोट-३ का वडाध्यक्ष वीरजंग भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का बासिन्दा सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल, अमृत खत्री र चालक रहेका थिए।
दुर्घटनामा परी वडाध्यक्ष भण्डारी सामान्य घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको र अन्य अवस्था सामान्य रहेको वडाध्यक्ष भण्डारीले टेलिफोन सम्पर्कमा जानकारी दिए। अन्य यात्री र चालकको अवस्था सामान्य छ।
कैलाश एयरको हेलिकोप्टरमा चिल ठोक्किएपछि दुर्घटनामा परेको हो। हेलिकोप्टरलाई नुवाकोटमा अवतरण गरिएको छ।
बागलुङबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकोप्टर पौने २ बजे दुर्घटना भएको हो। हेलिकोप्टरको अगाडिको सिसा फुटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।