काठमाडौं- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर निकाय समन्वय, सहजीकरणमा देखिएका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहनेगरी गठित उच्चस्तरीय सहजीकरण समितिका बैठकले विभिन्न निर्णय गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको उक्त बैठकले कार्यदिशाका सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, लगानी बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणका सम्वद्ध पदाधिकारीहरु बसी कम्तिमा एक वर्षको कार्यतालिकासहितको ठोस कार्ययोजना बनाई पेश गर्ने निर्णय गरेको छ।
त्यस्तै डिभिजन वन कार्यालय, बाराद्वारा वरिपरी विभिन्न पूर्वाधार निर्माणका निम्ति यसअघि नै गणना सम्पन्न गरिएका ४ हजार २३२ रुख कटानका सम्बन्धमा समितिको अघिल्लो बैठकको निर्णय कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयलाई ताकेता गर्ने निर्णय भएको छ। त्यस्तै बस्ती स्थानान्तरणका सम्बन्धमा सुझाव दिन गठित भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वको समितिले हालसम्म गरेका कार्यहरुका आधारमा स्थानीय एवं प्रदेश सरकारसमेतको अपनत्व हुने गरी बस्ति स्थानान्तरणका सम्बन्धमा आगामी दिनमा गर्नुपर्ने क्रियाकलापहरूको ठोस विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिने उल्लेख गरेको छ।
बैठकले विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी सम्बन्धमा अर्थ मन्त्रालयमा एक हप्ताभित्र छलफलको आयोजना गर्ने र त्यसको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने जिम्मेवारी तोकिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण आयोजना कार्यालयको स्तरोन्नति गरी हाल कार्यरतभन्दा कम्तिमा दुई तहमाथिको आयोजना प्रमुख खटाउने निर्णय समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।