काठमाडौं- कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज कम्पनी लिमिटेडसँग गरेको रासायनिक मलको दोश्रो ठेक्का सम्झौता पनि रद्द गरेको छ।
ठेक्का सम्झौताअनुसार मल ल्याउन नसकेपछि कृषि सामग्री कम्पनीले शैलुङसँगको पहिलो ठेक्का गत भदौ २१ गते रद्द गरी उक्त कम्पनीलाई कारबाहीसमेत गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको थियो।
२५ हजार मेट्रिक टन युरिया मलको ठेक्का अलपत्र पारेर कारबाहीमा परेको ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेजले थप ५० हजार मेट्रिक टन मलको ठेक्का पनि पूरा नगरेपछि त्यसको समेत जमानत जफत गरी सम्झौता रद्दको निर्णय गरेको हो।
कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार शैलुङले गत असार १८ गते पाएको ३० हजार मेट्रिक टन मलको ठेक्काका लागि पाएको समयसीमा गुजारेपछि गत कात्तिक २८ गते ठेक्का सम्झौता रद्दको निर्णय भएको हो। प्रवक्ता पोखरेलले शैलुङसँगको दोस्रो ठेक्का पनि रद्द भएको र जमानत जफतको प्रकृया अगाडि बढाइसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।